काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यले तीनवटा ठोस निर्देशन सार्वजनिक गरेका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत उनले उक्त निर्देशन जारी गरेका हुन्।

पहिलो निर्देशन सामुदायिक विद्यालयसँग सम्बन्धित छ। पुनले देशभरका सबै सामुदायिक माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षा अनिवार्य र प्रभावकारी बनाउन आदेश दिएका छन्। उनका अनुसार हरेक विद्यालयमा कम्तीमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य रूपमा थपिनु पर्छ, ताकि कुनै पनि विद्यार्थी कम्प्युटर शिक्षाबाट वञ्चित नहोस्।

advertisement

दोस्रो निर्देशन विश्वविद्यालयहरूको ढिलासुस्तीप्रति केन्द्रित छ। उनले कतिपय विश्वविद्यालयले परीक्षा नतिजा प्रकाशन गर्न आठ महिना देखि एक वर्षसम्म समय लगाउने प्रथाले विद्यार्थीको भविष्यमा गम्भीर असर पारेको बताए। परीक्षा सम्पन्न भएको तीन महिनाभित्र अनिवार्य रूपमा नतिजा प्रकाशन गर्नुपर्ने आदेश दिँदै उनले सो निर्देशन पालना नगर्ने विश्वविद्यालयको अनुदान रोक्का गरिने चेतावनी समेत दिएका छन्। राष्ट्रिय परीक्षा बोर्डले पाँच लाख विद्यार्थीको नतिजा तीन महिनाभित्र प्रकाशित गर्न सक्ने उदाहरण दिँदै उनले विश्वविद्यालयहरूलाई पनि त्यस्तै गतिशील बन्न आग्रह गरे।

तेस्रो निर्देशन त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर क्याम्पसलाई लक्षित छ। पुनले विश्वविद्यालय परिसरलाई आकर्षक र व्यवस्थित बनाउन झाडी फाँड्ने, ठूला रुखहरूको संरक्षण गर्दै सफाइ गर्ने, बगैँचा र फुटपाथ निर्माण गर्ने योजना अघि सारेका छन्।

मन्त्री पुनका यी निर्देशनलाई शिक्षा क्षेत्रमा सुधारका प्रारम्भिक कदमका रूपमा लिइएको छ।

प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com