काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी रुपान्तरणका लागि सुझाव संकलन सुरु गरेका छन्। उनले सातै प्रदेशका क्षेत्रीय सभापतिसँग भर्चुअल अन्तर्क्रिया गर्दै सुधार र पुस्तान्तरणको आवश्यकता उठाएका हुन्।
पौडेलका अनुसार जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिले पार्टी सुधार र रुपान्तरणबारे गम्भीर छलफल आवश्यक बनाएको छ। यही सन्दर्भमा नेता तथा कार्यकर्ताको धारणा संकलन गर्न अन्तर्क्रिया गरिएको उनले बताए।
भर्चुअल अन्तर्क्रियामा करिब ५० क्षेत्रीय सभापतिहरू सहभागी भए। सहभागीहरूले आत्मालोचना गर्दै पार्टीलाई रुपान्तरण र पुस्तान्तरणतर्फ अग्रसर गराउन सुझाव दिएका थिए।
नेता पौडेलले स्थानीय तहसम्मका नेतासँग पनि प्रत्यक्ष संवाद गरेका छन्। उनले अबको केही समय निरन्तर सुझाव संकलन गरी दस्तावेजीकरण गर्ने र त्यसलाई केन्द्रीय समितिमा प्रस्तुत गर्ने तयारी भएको बताए।
‘नेता–कार्यकर्ता मात्र होइन, आम नागरिकले पनि कांग्रेसलाई परिवर्तित परिस्थितिअनुसार रुपान्तरण गर्नुपर्ने माग राखेका छन्। त्यसैले सुझाव संकलन गरेर सुधारको खाका तयार गर्ने प्रक्रिया अघि बढाएको हुँ,’ पौडेलले भने।
उनले प्राप्त सुझाव र विज्ञहरूसँगको छलफलपछि विस्तृत दस्तावेजसहित पार्टीमा प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार













प्रतिक्रिया