काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा पछिल्ला राजनीतिक घटनाक्रमलाई दृष्टिगत गर्दै पार्टीको राजनीतिक, सांगठानिक र वैचारिक पुनर्गठनको माग उठेको छ। नेताहरूले अर्ली महाधिवेशन वा विस्तारित बैठक बोलाएर पार्टीलाई व्यवस्थित बनाउनुपर्ने प्रस्ताव पनि अघि सारेका छन्।
मंगलबारदेखि सुरु भएको रास्वपाको केन्द्रीय समिति बैठकमा नेताहरू सन्तोष परियार, पुकार बम, गणेश कार्की लगायतले पार्टी पुनर्गठन अनिवार्य भएको भन्दै प्रस्ताव राखेका छन्।
बैठकमा नेता परियारले दुई विकल्प प्रस्तुत गरेका थिए—पहिलो, मंसिरमा अर्ली महाधिवेशन आयोजना गर्ने र दोस्रो, महाधिवेशन नगर्ने भए विस्तारित बैठक मार्फत पार्टीको पुनर्गठन गर्ने। स्रोतका अनुसार परियारले बैठकमा भने, ‘यसरी अघि बढ्दा फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा जान पनि सहज हुनेछ।’
पहिलो महाधिवेशनको मिति रास्वपाले २०८२ फागुन ७, ८ र ९ का लागि तोकेको थियो। परियारले महाधिवेशन वा विस्तारित बैठकको विकल्पसहितको प्रस्ताव राखेको स्वीकार गर्दै, विस्तारित बैठकले सचिवालयदेखि केन्द्रीय समितिसम्मका जिम्मेवारी तथा कार्य विभाजनसमेत समायोजन गर्न सकिने बताए।
उनको प्रस्तावअनुसार, पार्टी पुनर्गठनसँगै छरिएका वैकल्पिक शक्तिलाई एकीकृत गर्नु पनि रास्वपाको जिम्मेवारी हुनेछ। परियारले भने, ‘छरिएका अन्य वैकल्पिक शक्तिलाई एकीकृत गर्ने जिम्मेवारी पनि रास्वपाको हो।’
बैठकमा केन्द्रीय सदस्यहरूले वर्तमान सरकार संविधानभन्दा बाहिर नागरिक सरकारको नाममा बनेको, भदौ २३–२४ का आन्दोलन र जेन–जी आन्दोलनका मागका कारण मुलुक नयाँ ढङ्गमा अघि बढेको बताए। त्यसअनुसार पार्टीले रणनीति बनाउनुपर्ने आवश्यकतामा सहमति भएको बताइएको छ। बैठक आज सकिने र बाँकी निर्णयहरू प्रवक्ता मनिष झाले जानकारी दिने जनाइएको छ।
प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार













प्रतिक्रिया