काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ शक्तिले विगतदेखि गर्दै आएको राजनीतिक आह्वान जेनजी विद्रोहले साकार बनाएको बताएका छन्।
बुधबार राजधानीमा सुरु भएको नेसपाको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै भट्टराईले नयाँ शक्तिले सधैं राजनीतिक स्थायित्व, सुशासन र समृद्धिको पक्षमा आह्वान गर्दै आएको बताए। उनका अनुसार जेनजी विद्रोहले अब सम्पूर्ण देशलाई विश्वासमा लिएर नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने अवसर दिएको छ।
भट्टराईले भने, ‘हामीले २०७२ सालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था, शक्तिशाली जनलोकपाल र सुशासनमार्फत देशलाई समृद्धिको दिशामा लैजाने उद्घोष गरेका थियौं। अहिले २०८२ सालमा जेनजी पुस्ताले हाम्रो आह्वानलाई व्यवहारमा उतारेका छन्। त्यसैले हामी अगुवा छौं र नयाँ पहलकदमी लिएर समाधान दिनुपर्छ। यसलाई क्रान्तिमा रूपान्तरण गर्नुपर्छ, प्रतिक्रान्तितिर होइन।’
उनले जेनजी विद्रोह पुराना पार्टीका भ्रष्ट नेतृत्वको विरोधमा भएको उल्लेख गर्दै विद्रोहपछिका परिस्थितिमा सबै पार्टीहरू पुनर्गठनको दबाबमा रहेको विश्लेषण गरे। साथै, पार्टीलाई नयाँ तहमा पुर्याएर जिम्मेवारी हस्तान्तरण गर्ने तयारी रहेको पनि उनले जानकारी दिए।
प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार













प्रतिक्रिया