हेटौँडा । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश संसदीय दलले प्रदेशमा मन्त्रालयहरूको संख्या घटाउनुपर्ने माग पुनः उठाएको छ।
बुधबार बसेको दलको बैठकले हालको राजनीतिक परिस्थितिको समीक्षा गर्दै मन्त्रालय संख्यामा कटौती गरी प्रशासनिक खर्च कम गर्नुपर्ने निर्णय गरेको हो।
दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालका अनुसार बैठकले पहिले देखिको आफ्नो अडानलाई दोहोर्याउँदै मन्त्रालय संख्या घटाएर खर्चमा मितव्ययिता अपनाउन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालेको छ।
बैठकले प्रदेश सरकारका गतिविधिमा सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णयसमेत गरेको छ। नागरिकको जीवनयापनसँग प्रत्यक्ष सरोकार भएका विषयमा सरकारलाई निरन्तर खबरदारी गर्ने र प्रतिपक्षको प्रभावलाई अझ मजबुत बनाउने रणनीति तय गरिएको ढकालले जानकारी दिए।
त्यस्तै बैठकले चालु आर्थिक वर्षमा सरकारले ल्याउन लागेको पूरक बजेटको विपक्षमा उभिने र प्रदेशसभामा रिक्त रहेको सभामुख पदमा आफ्नो सशक्त दाबी पेश गर्ने निर्णय गरेको छ।
प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार













प्रतिक्रिया