काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले विशेष महाधिवेशन घोषणा गर्नेबित्तिकै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित दशकौँदेखि एउटै पदमा रहेका सबै शीर्ष पदाधिकारीले सामूहिक राजीनामा दिनुपर्ने प्रस्ताव अघि सारेका छन् ।
बिहीबार बसेको केन्द्रीय समिति बैठकमा फरक मत राख्दै शर्माले आगामी महाधिवेशनलाई पुरानै नेतृत्व दोहोर्याउने थलो बनाउन नहुने बताए । उनका अनुसार पार्टीको नयाँ जीवन र विश्वसनीयता कायम गर्न नेतृत्व पुस्ता परिवर्तन अपरिहार्य भएको हो ।
शर्माले बैठकमा भने, ‘हामीले महाधिवेशन घोषणा गर्दा अध्यक्ष कमरेड प्रचण्डसहित दशकौँदेखि पदमा रहेका सबैले सामूहिक राजीनामा दिऔँ । र, आगामी महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय यतैबाट गरौँ ।’
उनले पुराना नेताहरूको योगदानलाई सम्मान गर्दै नयाँ पुस्ताको नेतृत्वलाई सहज बनाउन ‘निर्देशक कमिटी’ गठन गर्ने प्रस्ताव समेत प्रस्तुत गरे । उक्त कमिटीले महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई मार्गदर्शन गर्ने र अनुभव बाँड्ने भूमिका खेल्नुपर्ने उनको तर्क थियो ।
शर्माका अनुसार, यसरी मात्र विगतका महाधिवेशनजस्तो पुरानै अध्यक्षलाई ९० प्रतिशत समर्थन दिने संस्कार तोड्न सकिन्छ । ‘महाधिवेशन यथास्थितिको पुनरावृत्ति होइन भन्ने कुरा सुनिश्चित गर्नुपर्छ,’ उनले जोड दिए ।
उनले थपे, ‘आज जनताले सुन्ने गरी नयाँ अनुहार आवश्यक छ । अहिलेको नेतृत्वले गरेको अपिल जनताले स्वीकार गर्ने अवस्था छैन । त्यसैले आत्मालोचना गर्दै जिम्मेवारी नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बेला आएको छ ।’
शर्माले आफूले राखेको प्रस्ताव अध्यक्ष प्रचण्ड र पुरानो नेतृत्वको योगदानलाई कमजोर पार्ने उद्देश्य नभई, योगदानको मूल्यांकनसहित नयाँ पुस्तालाई अवसर दिने उपाय भएको स्पष्ट पारे ।
प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार













प्रतिक्रिया