काठमाडौं । सरकारले हालैको जेन–जी आन्दोलनका क्रममा नष्ट वा क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ स्थापना गर्ने घोषणा गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ‘हाम्रा संरचना हामी आफैं बनाऔं’ भन्ने मूलमन्त्रसहित कोषको सुरुवात गरिएको जानकारी दिए । उनका अनुसार, यस कोषमा सहयोग गर्ने व्यक्ती वा संस्थालाई आयकरमा छुटको सुविधा दिइने व्यवस्था मिलाइएको छ ।

advertisement

मन्त्री घिसिङले जेन–जी आन्दोलनले उठाएका सुशासन, पारदर्शिता र जवाफदेहिताका मूल्यमा बनेको वर्तमान सरकारलाई नागरिकको विश्वासमा आधारित सरकार बनाउन खोजिएको बताए । ‘यो सरकार मुलुकको समुन्नतिमा आम नागरिकको भरोसा बनेर अघि बढिरहेको छ । जनताको साथ, सल्लाह र सुझावलाई नै सरकारले आफ्नो मार्गनिर्देशनको आधार मानेको छ,’ उनले भने ।

उनले आन्दोलनका कारण भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनःस्थापना र राहतका लागि यो कोषलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाइएको स्पष्ट गरे ।

कोषमा योगदानका लागि संघ, प्रदेश र स्थानीय सरकारसँगै निजी क्षेत्र, गैरआवासीय नेपाली, गैरसरकारी संस्था, मित्रराष्ट्र, विकास साझेदार र दाता निकायलाई समेत आह्वान गरिएको छ ।

मन्त्री घिसिङका अनुसार, कोषमा संकलित रकम आयकर प्रयोजनका लागि खर्च कट्टी गर्न सकिने व्यवस्था गरिएको छ, जसले योगदानकर्तालाई प्रत्यक्ष कर सुविधा उपलब्ध गराउनेछ ।

प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com