सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जेन–जी आन्दोलनका क्रममा आफ्ना भाइहरूको सम्पत्ति र पार्टी संरचना जलेर नष्ट भएको घटनाप्रति गम्भीर आक्रोश प्रकट गरेका छन्।

भदौ २४ गते वीरेन्द्रनगरमा भएको आन्दोलनका क्रममा उनका भाइ डम्बर खड्का र विष्णु खड्काको घरमा आगजनी गरिँदा करोडौँ मूल्य बराबरको सम्पत्ति ध्वस्त भएको हो। राजनीतिक संलग्नताको आधारमा आन्दोलनकारीले उनीहरूको घरलाई निशाना बनाएका थिए।

advertisement

बिहीबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा खड्काले आफ्ना भाइहरूको जीवनभरको मेहनत एक झट्कामा खरानी भएको भन्दै पीडा व्यक्त गरे। उनले आफ्नो पृष्ठभूमिबारे प्रचलित ‘चप्पल लगाएर काठमाडौं आएका नेता’ भन्ने भाष्यलाई अस्वीकार गर्दै भने, ‘म सुट लगाएर काठमाडौं आएको हुँ। पाँच कक्षामा पढ्दा नै मेरा बाबुले मलाई सुट लगाइदिनुहुन्थ्यो। मेरी आमा जिमुवालकी छोरी र बाबु मुखिया हुनुहुन्थ्यो। हाम्रो परिवार अब्बल परिवार हो, मैले राजनीति नाममा कहिल्यै गलत बाटो समाएर कमाइ गरेको छैन।’

उपसभापति खड्काले आफ्नो पार्टी कार्यालय समेत जलाएर खरानी पारिएकोमा गहिरो दुःख व्यक्त गर्दै यस्तो विनाशकारी परिस्थितिबाट कसैलाई फाइदा नहुने बताए।
उनले समाजमा ‘जनआतंक’ बढाउने प्रवृत्तिलाई रोक्न आवश्यक रहेको उल्लेख गर्दै भने, ‘आजको अवस्था लगानीकर्तालाई त्रसित बनाउँदैछ। केही मुलुकहरूले नेपालतर्फको भिसा र लगानी रोकेका छन्। यसले देशको आर्थिक प्रगति गम्भीर रूपमा अवरुद्ध भएको छ।’

देश २० वर्ष पछाडि धकेलिएको टिप्पणी गर्दै खड्काले सबै नेपाली नागरिक र राजनीतिक दललाई मिलेर राष्ट्रिय पुनर्निर्माणको बाटोमा लाग्न आह्वान गरे।

प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com