काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले हालै सम्पन्न ‘जेनजी आन्दोलन’ले मुलुकलाई महत्वपूर्ण राजनीतिक अवसर दिलाउन सक्ने सम्भावना भए पनि त्यसलाई नेतृत्वको कमजोरीका कारण गुमाइदिएको टिप्पणी गरेका छन्।
शाहीले सामाजिक सञ्जालमार्फत दिएको प्रतिक्रियामा सडकस्तरमा आन्दोलनले ठूलो प्रभाव पारे पनि अन्ततः राजनीतिक लाभ भने भ्रष्ट नेतृत्वले कब्जा गरेको आरोप लगाए। उनका अनुसार आन्दोलनको प्रमुख एजेन्डा ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री’को माग असफल भएको छ।
‘सबै कुरा आन्दोलनकर्ताहरूको हातमा थियो तर पनि उपलब्धि सुरक्षित गर्न सकिएन,’ शाहीले लेखेका छन्। उनका अनुसार, भदौ २४ गते नै सडकबाट घोषणा गरेर ऐतिहासिक निर्णय गर्न सकिने अवसर थियो तर वास्तविक जेनजी प्रतिनिधिहरूलाई छोडेर अन्य समूह वार्तामा गएपछि आन्दोलन कमजोर बन्न पुग्यो।
शाहीले प्रधानमन्त्री सुशीला कार्कीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली अहिले सम्भव नभएको स्पष्ट अभिव्यक्ति दिएकै कारण उक्त मुद्दा औपचारिक रूपमा असफल भएको दाबी गरेका छन्। संविधान संशोधनमार्फत मात्र यस्तो व्यवस्था लागू गर्न सकिने र त्यसका लागि १८४ सांसदको समर्थन आवश्यक हुने भएकाले निकट भविष्यमा सम्भावना न्यून रहेको उनको तर्क छ।
आगामी निर्वाचन सामान्य संसदीय निर्वाचनमा सीमित हुने भन्दै शाहीले नयाँ पुस्ताको आकांक्षा अधुरै रहने चेतावनी दिएका छन्। उनले फेरि पनि भ्रष्ट नेतृत्व नै अग्रस्थानमा पुगेको आरोप लगाउँदै मुलुकले अपेक्षित राजनीतिक उपलब्धि गुमाएको निष्कर्ष निकालेका छन्।
प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार












प्रतिक्रिया