काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले जेनजी आन्दोलनका क्रममा जलाइएको आफ्नो घरलाई ‘ध्वंसात्मक सङ्ग्रहालय’का रूपमा संरक्षण गर्ने घोषणा गरेका छन् ।
भदौ २३ र २४ गतेको आन्दोलनमा जलेको घरबारे सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सो घरलाई लामो समयसम्म सङ्ग्रहालयका रूपमा राखिने उल्लेख गरेका छन् । ‘मेरो घर हेरेर सबैले समीक्षा गरून्— यो घर जलाउनै आवश्यक थियो कि होइन,’ उनले लेखेका छन् ।
पूर्वउद्योगमन्त्री समेत रहेका बस्नेतले सांसद हुँदा भक्तपुरको समग्र विकासमा ऐतिहासिक काम गरेको र उद्योगमन्त्री हुँदा नेपालकै उद्योग–व्यवसाय क्षेत्रमा महत्त्वपूर्ण परिवर्तन ल्याएको दाबी गरेका छन् । उनले आफ्नो जीवन सधैं जनताको सेवामा समर्पित रहेको भन्दै घर जलाउनु, बदनाम गर्न खोज्नु र परिवारमाथि आक्रमण गर्नु गम्भीर षड्यन्त्र भएको बताए ।
‘मेरो घर जलाइन्छ, मलाई बदनाम गरेर मार्ने प्रयास हुन्छ, मेरो परिवारलाई जिउँदै जलाउने प्रयत्न हुन्छ, निर्दोष छोराछोरीलाई समाजमा हिँड्नै गाह्रो बनाइन्छ,’ बस्नेतले लेखेका छन्, ‘तर म यसबाट कहिल्यै नडराउँछु । जनताको हित र आफ्नो कर्तव्यबाट म एक कदम पनि पछि हट्दिनँ, बरु ज्यान दिन तयार हुन्छु ।’

प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार













प्रतिक्रिया