काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले दसैँ–तिहारको अवसरमा शिक्षकहरूको तलब रोक्ने विद्यालय तथा स्थानीय तहहरूलाई कडा चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमार्फत मन्त्रमण्डलले पठाएको बजेट विद्यालयले रोकेको भन्दै धेरै गुनासा आएका उनले जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘दसैँ तिहार नजिकिँदै गर्दा कतिपय विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिले शिक्षकको तलब नदिएको गुनासो आइरहेको छ । शिक्षा मन्त्रालयबाट तलबको रकम पहिले नै सम्बन्धित विद्यालयहरूमा पठाइसकिएको छ । भोलिसम्म पनि कुनै गैरकानुनी वा अन्यायपूर्ण रूपमा तलब नपाएका शिक्षकको तलब रोकिने हो भने सम्बन्धित प्रधानाध्यापकविरुद्ध कडा कारबाही हुनेछ ।’
मन्त्री पुनले स्थानीय तहलाई समेत समयमै तलब निकासा गर्न निर्देशन दिएका छन् । उनका शब्दमा, ‘शिक्षा मन्त्रालयले तलबका लागि आवश्यक रकम हरेक पालिकामा पठाइसकेको छ । भोलिसम्म कुनै शिक्षकको तलब रोकिने अवस्था देखिएमा त्यस स्थानीय तहविरुद्ध पनि कानुनअनुसार कारबाही गरिनेछ ।’
दसैँको बेला शिक्षकहरूलाई तलब नदिने प्रवृत्ति अन्यायपूर्ण भएको बताउँदै मन्त्री पुनले सबै विद्यालय र पालिकालाई जिम्मेवार बन्न आग्रह गरेका छन् ।
प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार













प्रतिक्रिया