काठमाडौं । नेपाली कांग्रेसको रूपान्तरणका पक्षमा आवाज उठाउँदै आएका नेता प्रदीप पौडेलले देशभरका कार्यकर्ताबाट सुझाव सङ्कलन अभियानलाई तीव्र बनाएका छन् । पार्टीमा व्यापक रूपान्तरणका लागि सुरु गरिएको बहसअन्तर्गत उनले सातै प्रदेशका महाधिवेशन प्रतिनिधिसँग भर्चुअल संवाद सम्पन्न गरेका छन् ।

‘वर्तमान राजनीतिमा कांग्रेसको जिम्मेवारी र सङ्गठनात्मक भूमिका’ शीर्षकमा आयोजित भर्चुअल छलफलमा सहभागी अधिकांश प्रतिनिधिहरूले पार्टीमा तत्काल संरचनात्मक र नेतृत्वगत परिवर्तन आवश्यक रहेको धारणा व्यक्त गरे । उनीहरूको भनाइमा, बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसले आफ्नो दिशा र कार्यशैली दुवै स्पष्ट गर्नुपर्ने समय आएको छ ।

advertisement

प्रतिनिधिहरूले नेतृत्व रूपान्तरण नभएसम्म पार्टीले मुलुकको राजनीतिक चुनौती सम्बोधन गर्न नसक्ने भन्दै केन्द्रले चाँडै स्पष्ट मार्गचित्र तय गर्न माग गरे । कार्यक्रममा देशभरका ११० जना महाधिवेशन प्रतिनिधिहरू सहभागी थिए ।

संवादका क्रममा नेता पौडेलले आफू कार्यकर्ताको भावना र अपेक्षालाई केन्द्रसम्म पुर्‍याउन प्रतिबद्ध रहेको बताए । उनले भने, ‘कांग्रेसको वास्तविक शक्ति भनेका आम कार्यकर्ता हुन् । उनीहरूको आवाज नसुनेसम्म पार्टी जीवन्त र गतिशील रहँदैन ।’

उनका अनुसार पार्टी रूपान्तरणको पहल कुनै व्यक्ति वा समूहको नभई सम्पूर्ण कार्यकर्ताको चाहना हो । ‘देशव्यापी रूपमा कार्यकर्ताको भावना बुझ्दै म पार्टी रूपान्तरणको अभियान अघि बढाइरहेको छु,’ उनले भने, ‘तपाईंहरूको भावनाअनुसारको परिवर्तनमा म सक्दो भूमिका खेल्नेछु ।’

छलफलमा अधिकांश प्रतिनिधिहरूले पार्टी पुनर्जागरणका लागि नियमित महाधिवेशनलाई नै सर्वोत्तम उपाय भनेका थिए । यद्यपि, वर्तमान नेतृत्वबाट तत्काल नियमित महाधिवेशन सम्भव नदेखिएको भन्दै उनीहरूले विकल्पका रूपमा विशेष महाधिवेशनको माग गरेका छन् ।

उनका अनुसार, ‘यदि नियमित महाधिवेशनमा ढिलाइ हुन्छ भने पार्टीलाई अनिर्णयको अवस्थाबाट मुक्त गर्न विशेष महाधिवेशन बोलाएर नेतृत्व र रणनीतिमा नयाँ ऊर्जा भर्नुपर्छ,’ भन्ने धारणा सहभागीहरूले राखेका थिए ।

युवा प्रतिनिधिहरूले हालै देशभर फैलिएको ‘जेन जेड आन्दोलन’ ले उठाएका रूपान्तरण र पुस्तान्तरणका एजेन्डालाई कांग्रेसले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिएका थिए । उनका अनुसार, समयको मागअनुसार कांग्रेसले आफूलाई अद्यावधिक गर्न नसके इतिहासको परिधिमा सीमित हुने जोखिम बढेको छ ।

छलफलमा सहभागीहरूले लोकतन्त्र र संविधानको रक्षा कांग्रेसकै जिम्मेवारी भएको भन्दै आन्तरिक एकता र आत्ममूल्यांकन आवश्यक रहेको औँल्याए ।

युवा नेताहरूले भने, ‘अब पुरानो पुस्ताले सहज रूपमा मार्ग प्रशस्त गर्नुपर्छ । यदि त्यसो भएन भने युवाहरू नेतृत्व हस्तान्तरणका लागि सक्रिय रूपमा अघि बढ्न तयार छन् ।’

संवादको निष्कर्षमा प्रदीप पौडेलले कार्यकर्ताको भावना र सुझावलाई केन्द्रमा पुर्‍याएर पार्टी रूपान्तरणको अभियानलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com