पोखरा ।  मोनमोहक माछापुच्छ्रे मुस्कुराइरहेको छ तर पर्यटकीय सहर सुनसान छ । तालतलैया, हिमशृङ्खला र प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरा यो याममा  पर्यटकले भरिभराउ हुने समय हो तर पोखरा पर्यटकको प्रतीक्षामा छ ।
होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदी यो याममा ७० देखि ८० प्रतिशतसम्म हुने अकुपेन्सी अहिले घटेर १५ देखि २० प्रतिशतमा  सीमित भएको बताउछन् । सेप्टेम्बरमा ४० प्रतिशत ‘बुकिङ’ रद्द भएको उनले सुनाए ।
सुवेदीका अनुसार अहिले सम्मको प्रारम्भिक अनुमानले पोखराका ठूला छ वटा होटलसहित मध्यम र सानास्तरका होटल, रेष्टुरेन्ट, ट्राभल एजेन्सी तथा पर्यटनसँग प्रत्यक्षअप्रत्यक्ष रूपमा जोडिएका व्यवसायमा पनि सामान्यदेखि असर परेको छ । करिब रु साढे दुई अर्ब बराबरको क्षति भएको छ । पोखराको पर्यटन क्षेत्रमा रु आठ खर्ब बराबरको लगानी भएको छ । करिब १५ हजारले रोजगारी पाएका छन् ।
पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपीबहादुर भट्टराईले बताए । उनले भने, ‘अहिलेको घटनाले अन्तरराष्ट्रियस्तरमा नै नकारात्मक सन्देश पुगेको छ तर नेपालको पर्यटन सुरक्षित रहेको सन्देश प्रवाह गर्न नेपाल पर्यटन बोर्ड र  सरोकार भएका अन्य निकायको भूमिका महत्वपूर्ण हुन्छ ।’
यसैबीच, नेपाल पर्यटन बोर्डले पर्यटन प्रवर्द्धनका लागि ‘आइ एम इन नेपाल नाउ’ ‘ह्यासट्याग’ अभियान सुरु गरेको छ । बोर्डले ‘रियल–टाइम स्टोरी’हरू उत्पादन गरेर सामाजिक सञ्जालमार्फत नेपाल पर्यटकका लागि सुरक्षित गन्तव्य भएको सन्देश प्रवाहको प्रयासलाई निरन्तरता दिएको छ ।

प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com