काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिबाट सन्यास लिन सुझाव दिएका छन्।
सर्लाहीको लालबन्दीमा आजपा मधेस प्रदेश समिति बैठक तथा दशैं, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले भने, ‘अब ओलीले गुण्डुमा कार्यकर्ता भेला गरेर होइन, जनताको सामु खुलेर माफी माग्दै राजनीतिबाट सन्यास लिने हो भने त्यो उनको आफ्नै हितमा हुनेछ।’
उनका अनुसार, देश र पार्टीलाई नेतृत्व दिँदै आएको लामो राजनीतिक यात्रापछि पनि ओलीमा अझै हठ, घमण्ड र अहंकार कायम रहनु दुर्भाग्यपूर्ण कुरा हो। साहले थपे, ‘सार्वजनिक रूपमा गल्ती स्वीकारेर सम्मानजनक रूपमा राजनीतिक जीवनबाट बिदा लिनु नै उनको लागि उचित कदम हुनेछ।’
अध्यक्ष साहले एमालेलाई पनि अब ओलीको नेतृत्वमा अघि नबढ्न आग्रह गर्दै भने, ‘पार्टीले नयाँ सोच, नयाँ पुस्ता र नयाँ नेतृत्वलाई अवसर दिनुपर्ने बेला आएको छ।’
प्रकाशित मिति: १२ आश्विन २०८२, आइतबार













प्रतिक्रिया