बादशाह बन्नका लागि
शिरमा श्रीपेच ,हातमा सुनैको छडी
अनि राजगद्दीमा विराजमान
हुनैपर्छ भन्ने होइन!
बादशाह त त्यो हो,
जसले फुटपाथदेखि महलसम्म
झुपडीदेखि दरबारसम्म
अनि यो मनदेखि त्यो मनसम्म
सबको हृदयलाई छुन सक्छ
फोहोरको डङ्गोर ,
उथलपुथल भूमि
सब दुःख पार लगाउन सक्छ ।
वायुपंखी घोडा चढेर होइन
आफ्नै आवाजमा गुडेर
सर्बजनको साहारा बनेर
तन र मनभित्र राज गर्न सक्छ।
असली बादशाह त त्यो हो
जसले
बर्षौदेखि भ्रममा पारेका
आँखामा छारो हालेका
सबको नजरमा काँडो बनी बसेका
ल्वाम र ह्वाममा डुबेका
राज्यका ढुकुटी रित्याएका
ती मतियार हरुका
बलिष्ठ साप्राहरुमा
भाटा सेक्न सक्छ।
बोलीले होइन व्यवहारले
गोलीले होइन साहसले
गुठ र फुटले होइन एक्लैले
स्वयम् नवीन कार्यबाट
एउटा इतिहास रच्न सक्छ
अनि नयाँ आयाम थप्न सक्छ।
कसैको आग्रह, पुर्वाग्रह
कसैको डर ,दवाब अनि धम्की
रत्तिभर नमानी डर !
युग बदल्न चाहने
जोसिला पाइलाहरू
दृढ संकल्प अनि इच्छाशक्ति बोकी
विकासको मूल फुटाउन सक्छ
हो ,त्यहीं सुपुत्र यो देशको अकबरी बादशाह!
यो युगले मागेको युगान्तकारी बादशाह!
जुन तिम्रा काम र कर्तव्यले प्रस्ट्याएका छन्।
जनका आशाका दियाहरु निभ्न नदिनु है!
विश्वास र भरोसालाई जोगाउँदै
यहीँ माटोको तिलक धारण गरी
तिमी अकबरे भिरमा पनि गुराँस फूलाइरहनु है !
हामीलाई त तिमीजस्तै जोसिलो अनि आँटिलो
देशभक्ति अनि राष्ट्रसेवक मनपर्छ,
सप्तरङ्गी ईन्द्रेणी अनि बुद्धबाणी मनपर्छ;
सत्यवचन र सत्यको जित मनपर्छ।

advertisement

प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com