काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेट गरेका छन् । भेटमा दाहालले विश्वभरका सांसदहरूको संगठन अन्तर–व्यवस्थापिका संघ (आईपीयू)को १५१औं सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने तयारीबारे राष्ट्रपतिलाई जानकारी गराएका हुन् ।
अध्यक्ष दाहाल यही असोज ३१ गते जेनेभा प्रस्थान गर्ने तयारीमा छन् । उनले नेतृत्व गर्ने प्रतिनिधिमण्डलमा राष्ट्रिय सभाका सदस्य र कर्मचारी गरी पाँच जना सहभागी हुनेछन् ।
यसअघि आइतबार उनले प्रधानमन्त्री सुशीला कार्कीसँग पनि भेट गरी सम्मेलनमा उठाइने विषय र नेपालको हालको राजनीतिक परिस्थितिबारे छलफल गरेका थिए । सो अवसरमा प्रधानमन्त्री कार्कीले बदलिँदो अन्तर्राष्ट्रिय परिवेशमा नेपालको पक्ष मजबुत रूपमा प्रस्तुत गर्न सुझाव दिएकी थिइन् ।
राष्ट्रपतिसँगको भेटमा अध्यक्ष दाहालले आगामी राष्ट्रिय सभा निर्वाचनका विषयमा समेत चर्चा गरेका थिए ।
प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार












प्रतिक्रिया