काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी समसामयिक राजनीतिक विषयमा परामर्श गरेका छन्। बुधबार बिहान शीतल निवास पुगेर अध्यक्ष दाहालले राष्ट्रपतिसँग आगामी अन्तर्राष्ट्रिय कार्यक्रम र राष्ट्रिय सभा निर्वाचनसम्बन्धी विषयमा कुराकानी गरेका हुन्।
अध्यक्षको सचिवालयका अनुसार भेटमा स्वीजरल्यान्डको जेनेभामा यही अक्टोबर १९ देखि सुरु हुने अन्तर–व्यवस्थापिका संघ (आईपीयू) को १५१औँ महासभामा नेपालको प्रतिनिधित्वबारे विस्तृत छलफल भएको थियो। विश्वका १८१ देशका संसद्हरू सदस्य रहेको उक्त महासभामा राष्ट्रिय सभा अध्यक्ष दाहालको नेतृत्वमा संघीय संसद्को प्रतिनिधि मण्डल सहभागी हुने तयारी छ।
यसअघि, आइपियू महासभामा नेपालको सहभागिता र माघमा हुने राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा प्रधानमन्त्री सुशीला कार्कीसँग पनि अध्यक्ष दाहालले परामर्श गरेका थिए।
अध्यक्ष दाहाल र राष्ट्रपति पौडेलबीचको आजको भेटलाई आगामी अन्तर्राष्ट्रिय संलग्नता, निर्वाचन तयारी र संघीय संसद्को भूमिकाबारे उच्चस्तरीय समन्वयका रूपमा हेरिएको छ।
प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार












प्रतिक्रिया