काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा नयाँ कम्युनिस्ट केन्द्र निर्माण गर्नुपर्ने सुझाव आएको छ। कपिलवस्तुस्थित पार्टी केन्द्रीय कार्यालय शिवगढीमा आइतबारदेखि जारी केन्द्रीय समितिको विशेष बैठकमा यो प्रस्ताव व्यापक रूपमा उठेको स्थायी समिति सदस्य सन्तोष बुढाले जानकारी दिएका छन्।

उनका अनुसार हालको राजनीतिक परिस्थिति र क्रान्तिकारी धारका पार्टीहरूबीच एकता र ध्रुवीकरणको आवश्यकता तीव्र भएकोले विप्लवको नेतृत्वमा नयाँ कम्युनिस्ट केन्द्र गठन अपरिहार्य भएको निष्कर्ष बैठकमा निकालिएको छ। बुढाले भने, “यथास्थितिका राजनीतिक दल, संगठन र नेतृत्वबाट नयाँ क्रान्तिकारी केन्द्र सम्भव छैन। यही कुरा महासचिव विप्लवले प्रचण्ड, माधव लगायत नेताहरूसँग पनि पहिले राख्नुभएको थियो।”

advertisement

उनले नेपालका कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने प्रयासमा विदेशी साम्राज्यवादी शक्ति सक्रिय रहेको आरोप लगाउँदै त्यसको प्रतिरोधका लागि पनि नयाँ कम्युनिस्ट केन्द्र निर्माण आवश्यक रहेको बताए।

मंगलबारको सत्रमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा प्रस्तुत गरिसकेका छन् भने आज पोलिटब्युरो सदस्यहरूले विचार राख्ने कार्यक्रम रहेको बुढाले बताए। त्यसपछि महासचिव विप्लवले बैठकमा उठेका प्रश्नहरूको जवाफ दिनेछन्।

बैठकमा विप्लवले ‘विशेष परिस्थितिको विशेष कार्यभार’ शीर्षकमा राजनीतिक प्रतिवेदन पेस गरेका छन्, जसमा जेनजी विद्रोहपछि उत्पन्न राजनीतिक अवस्था, पार्टीको भूमिकाबारे मूल्यांकन र आगामी कार्यदिशा समेटिएको छ।

प्रतिवेदनमाथि विभिन्न कोणबाट छलफल भइरहेको र अन्तिम निर्णय अझै बाँकी रहेको जनाइएको छ। बैठक बिहीबारसम्म जारी रहने कार्यक्रम रहेको स्थायी समिति सदस्य बुढाले जानकारी दिएका छन्।

प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com