काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा भदौ २३ गते संसद भवन अगाडि भएको गोलीकाण्डको बारेमा आफूलाई घटना भइसकेपछि मात्रै जानकारी भएको बताएका छन्।
दसौं केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमार्फत ओलीले भनेका छन्— गोली चलाउने आदेश कानुनी अधिकार प्राप्त निकाय वा अधिकारीले मात्रै दिनसक्ने स्पष्ट व्यवस्था छ, र प्रधानमन्त्री त्यस्तो अधिकार प्राप्त व्यक्ति होइनन्।
उनका अनुसार, ‘भदौ २३ गतेको गोलीकाण्डको बारेमा प्रधानमन्त्रीलाई घटना घटिसकेपछि मात्र थाहा भएको हो। दंगा नियन्त्रणका वैकल्पिक उपाय नअपनाई किन त्यति ठूलो संख्यामा गोली चलाइयो? एकैपटक करिब दुई दर्जन युवाको ज्यान किन गयो? सयौं घाइते किन बने? र त्यसको भोलिपल्ट अर्थात् २४ गतेका विध्वंशकारी गतिविधिका तयारी किन गरियो? यी दुई दिनका घटनाबीचको सम्बन्धको गहिरो विश्लेषण हुन जरुरी छ,’ उनले भनेका छन्।
ओलीले थप बताएका छन् कि उक्त घटनापछि मन्त्रिपरिषद्को बैठक बसेर घाइतेको निःशुल्क उपचार, मृतक र घाइतेका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरिएको थियो। साथै, घटनाको सत्यतथ्य पत्ता लगाउन पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन आयोग गठन गरी दोषीमाथि कानुन बमोजिम कारबाही गर्ने निर्णय पनि सरकारले गरेको उनले स्मरण गराए।
‘यस्ता यथार्थ हुँदाहुँदै पनि तत्कालीन प्रधानमन्त्रीमाथि नियोजित रूपमा गरिएको निराधार र आपराधिक प्रचारको एमाले कडा विरोध गर्दछ,’ ओलीको प्रतिवेदनमा भनिएको छ।
प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार












प्रतिक्रिया