काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हमासद्वारा मारिएका नेपाली युवक विपिन जोशीको साहस, त्याग र समर्पणलाई नेपाली राष्ट्रले सदा सम्झिरहने बताएकी छिन्।
उनले दुई वर्षदेखि बन्धकमुक्त हुने आशा पालिरहेका बेला विपिनको मृत्युको खबरले आफू अत्यन्त स्तब्ध र मर्माहत भएको बताइन्।
‘यो पीडादायक समाचारले सम्पूर्ण नेपाली जनताको हृदय च्यातिएको छ। यस दुःखद क्षणमा म विपिनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँका परिवारजन र आफन्तहरूमा गहिरो समवेदना व्यक्त गर्दछु,’ प्रधानमन्त्री कार्कीले भनिन्।
उनका अनुसार, विपिन केवल एक विद्यार्थी मात्र होइन, विदेशमा ज्ञान र अवसरको खोजीमा निस्किएका हजारौं नेपाली युवाको प्रेरणादायी प्रतिनिधि थिए।
‘विपिन जोशी पढाइप्रति समर्पित, ऊर्जावान् र मानवीय मूल्यका प्रतीक थिए। उहाँको जिवन उत्साह, लगनशीलता र अरूलाई सहयोग गर्ने उदार भावनाले परिपूर्ण थियो,’ प्रधानमन्त्रीले उल्लेख गरिन्।
प्रधानमन्त्री कार्कीले थप भनिन्, ‘सदा शान्तिको पक्षमा उभिएको नेपालको छोरा अन्तर्राष्ट्रिय द्वन्द्वको अमानवीय हिंसाको सिकार बन्न पुगेको छ, जुन अत्यन्त दुःखद छ।’
उनले विपिनको मृत्युले केवल एक परिवारको आशा होइन, दुई वर्षदेखि पलाइरहेका राष्ट्रिय अपेक्षा र प्रार्थनालाई समेत भङ्ग पारेको बताइन्।
‘विपिनको वीरता र साहस उहाँको जीवनको अमर धरोहर हो। उहाँ सधैं नेपाली युवाको आत्मबल र राष्ट्रको गौरवको प्रतीकका रूपमा जीवित रहिरहनेछन्,’ प्रधानमन्त्री कार्कीले भनिन्।

प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार












प्रतिक्रिया