धादिङ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश माओवादी केन्द्रको मूल एजेन्डा र विचारका आधारमै अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।
थाक्रे गाउँपालिकाको महादेवेशीमा आयोजित पार्टी गाउँपालिका समितिको बैठकलाई सम्बोधन गर्दै उनले माओवादी केन्द्रले वर्तमान राष्ट्रिय संकटको बीचमा पनि देशको नेतृत्व लिन सक्ने राजनीतिक शक्ति भएको बताए।
उनका अनुसार, ‘देश अहिले जटिल र संवेदनशील परिस्थितिबाट गुज्रिरहेको छ। यस्तो अवस्थामा माओवादी केन्द्रले संविधान, गणतन्त्र र जनताको पक्षमा अडिग रहँदै राष्ट्रलाई स्थायित्व र रूपान्तरणको दिशामा अघि बढाइरहेको छ,’ प्रचण्डले भने।
उनले माओवादी केन्द्र नै जेन्जी आन्दोलन सुरु हुनुअघि नै युवाहरूका मागलाई खुलेर समर्थन गर्ने पहिलो राजनीतिक शक्ति भएको दाबी गरे। ‘जेन्जी आन्दोलनसँग हाम्रो सम्बन्ध केवल समर्थनको होइन, सिद्धान्त र दृष्टिकोणको पनि हो। उनीहरूको वास्तविक आवाज र प्रतिनिधि शक्ति माओवादी केन्द्र नै हो भन्ने कुरा जनताले बुझिसकेका छन्,’ उनले भने।
प्रचण्डले थपे, ‘सरकारमा रहँदा जेन्जीहरूलाई दमन गर्ने र सडकमा उनीहरूको मागको समर्थन गर्ने शक्ति एउटै होइनन्। माओवादी केन्द्र सधैं परिवर्तन, न्याय र युवा पुस्ताको आकांक्षाको पक्षमा उभिएको पार्टी हो।’
निर्वाचनबारे भ्रममा नपर्न नेताहरूलाई आग्रह गर्दै उनले भने, ‘निर्वाचन हुने नहुने भन्ने शंका पाल्नुको अर्थ छैन। निर्वाचन घोषणा भइसकेको छ, अब त्यसका तयारीमा जुट्ने बेला हो। माओवादी केन्द्र निर्वाचनमा अग्रणी भूमिकामा रहनेछ।’
उनले चाँडै पाँच वटा राजनीतिक दलसँग एकता प्रक्रियालाई अघि बढाउने संकेत पनि दिए। साथै, पार्टीको केन्द्रीय समिति बैठकले जेन्जी आन्दोलनका मागअनुसार नेतृत्व तहमा युवा पुस्तालाई अगाडि ल्याउने नीतिगत निर्णय गरिसकेको जानकारी पनि दिए।
‘हाम्रो पार्टी समयको मागअनुसार पुनर्संरचना हुँदैछ। नयाँ पुस्ता र नयाँ सोचसहित माओवादी केन्द्रलाई भविष्यमुखी बनाउने हाम्रो दृढ संकल्प छ,’ प्रचण्डले जोड दिए।
प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार












प्रतिक्रिया