काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व नेतृ तथा पूर्व सांसद सुमना श्रेष्ठले नेपालको ‘विविधतामा एकता’ भन्ने आदर्श नारामात्र सीमित भएको र व्यवहारमा भने विभेद र पूर्वाग्रहको संस्कृति मौलाउँदै गएको बताएकी छन्। सामाजिक सञ्जालमार्फत बुधबार अभिव्यक्ति दिँदै उनले मानिसको अनुहार, पृष्ठभूमि र अध्ययनका आधारमा राष्ट्रियता मापन गर्ने प्रवृत्तिप्रति तीव्र आपत्ति जनाएकी हुन्।

श्रेष्ठले लेखेकी छन्, ‘महेन्द्रमालामा पढेको ‘विविधतामा एकता’ राम्रो सुनिनका लागि मात्रै रहेछ। व्यवहारमा तिब्बती अनुहार देखियो भने शरणार्थी ठान्ने, कालो छाला देखियो भने बिहारी भन्ने, अनि नागरिकता नक्कली ठहर्याउने प्रवृत्ति बढ्दैछ।’

advertisement

उनले हाल सुदन गुरुङ र टासी शेर्पा जस्ता नागरिकहरूको नागरिकतामाथि उठाइएका प्रश्नलाई उदाहरणका रूपमा दिँदै सोधिन्, ‘असली नेपाली को हो ?’

श्रेष्ठले विदेशमा पढेर फर्किएका नेपालीहरूलाई विदेशी एजेन्ट ठहर्याउने मानसिकताको पनि आलोचना गरिन्। उनले व्यङ्ग्य गर्दै लेखेकी छन्, ‘विदेशी विश्वविद्यालयमा पढ्यो भने एजेन्ट ठहर्ने हो भने राजा बिरेन्द्र पनि त इटनका विद्यार्थी हुनुहुन्थ्यो, उनी पनि बेलायती एजेन्ट हुन् त?”

उनले चेतावनी दिँदै भनिन्, ‘यदि यस्तो अपमानजनक र राष्ट्रियताको निरन्तर परीक्षा लिइरहने प्रवृत्ति रोकिएन भने विदेशमा पढ्ने र सीप आर्जन गर्ने नयाँ पुस्ता स्वदेश फर्किन उत्साहित हुने छैन।’

श्रेष्ठले हरेक नेपाली परिवारका सदस्य विदेशमा रहेको यथार्थ प्रस्तुत गर्दै प्रश्न गरिन्, ‘अमेरिका, युरोप, भारत वा खाडीमा गएकालाई विदेशी एजेन्ट र दलाल ठहर्याउने हो भने बाँकी को रहन्छ ?’

कवि भूपि शेरचनको कवितालाई उद्धृत गर्दै उनले नेपालमा ‘हल्ला र षड्यन्त्र हेर्ने मानसिकता’ गहिरिँदै गएको बताइन्। उनले सबैलाई अपुष्ट समाचार र सामाजिक सञ्जालका हल्ला पत्याउनुअघि स्रोतको विश्वसनीयता जाँच्न र शंकास्पद सामग्री तुरुन्तै शेयर नगर्न आग्रह गरेकी छन्।

श्रेष्ठले अन्त्यमा लेखेकी छन्, ‘हामीले गर्व गर्न लायकको सामाजिक सद्भावलाई जोगाऔँ, यही हाम्रो साझा राष्ट्रिय पहिचान हो।’

प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com