- लेखक: सन्तोष नेपाल
पोहोरसम्म काठमाडौंमै बसेर काम सकेर तिहार नजिकिँदा घर जाने दिन गन्नेहरु, अझ तीन दिन, दुई दिन, भोलि त घर पुगिन्छ! भन्ने उत्साह मनमा राखेर उत्साहित हुनेहरु आज अर्कैको देशमा घर जाने दिन बर्षौमा गन्न बाध्य भएको परिस्थिति छ । घर पुग्ने बित्तिकै आँगनमा रंगोली बनाउने, घर फुलमाला र बत्तिले झकिझकाउ बनाउने, मादलको तालमा साथीहरूसँग देउसी-भैलो खेल्ने, पटका पड्काउने लगाएत उत्सब मनाउनेहरु अहिले पर्देश बसेर पुरानो ति क्षणहरू सम्झेर आँसु नझार्ने कमै होलान! हुन त बर्षौ अघिदेखि बिदेशीने चलन पछिल्लो समय बड्दै जानुले नेपानी माझ चाडबाड खल्लो हुँदै गएको आभास पक्कै भैरहेको छ।
परदेशको त्यो सानो कोठामा झ्यालबाहिर शहरको बत्ती झिलिमिलिले गिज्याउँछ, अनि सम्झना दिलाउछ नेपाल कै । नेपालमा अहिले दिदी एक्लै छिन्, भाइ पर्देशमा एक्लै छ। त्यो “भाइटीकाको दिन” जुन सधैं हाँसोको पर्व हुन्थ्यो, अहिले मौन स्मृतिमा बद्लिएको छ। त्यो नेपालका दिनहरुको सम्झनाले मनभित्र कतै पोल्छ त कतै खुसि पनि दिलाउँछ ।पोहोर साल सम्म आफ्नै आँखाले देखेको त्यो झिलिमिलि त्यो उज्यालो आज धेरै नेपाली बाट टाढा छ।
पुरानो ति दिन पक्कै तिहारले पनि खोज्दै होला फुलमालाको सजावट आँगनमा बत्तिका पङ्क्तिहरू देउसी–भैलोको स्वरले बाटोभरि रमाइलो मच्चाउने पलहरु देउसिरे र भैलिनिको गुन्जयमान स्वरहरु अब कहिले फर्केला भनेर ।
भोगाइले हेर्ने हो भने यो समय नेपालका गाउँ–शहर अहिले फूलमालाले सजिएका होलान्, आँगनमा बत्तिका पङ्क्तिहरू टल्किरहेका होलान्, देउसी–भैलोको स्वरले बाटोभरि रमाइलो मच्चिएको होला। बालबालिका “देउसी रे…” भन्दै नाचिरहेका होलान्, र माताहरू चुल्होमा मिठो पकाउँदैछिन् होला भनेर परिस्थितिको कल्पना मात्र गर्न सकिने दिन आयो भन्दा फरक नपर्ला अब कति परिवार त छोराछोरी देश फर्केलान अनि चाडबाड मनाउँला, अहिलेलाइ कर्म मात्र चलाउँ भनेर देखावटी हाँसो र देखावटीपनमा चाडबाड मनाइरहेको भाव स्पष्ट हुन कठिनाइ छैन । परदेशीएका नेपालीहरूका लागि मात्र नभई नेपालमै हुनेहरुको लागि पनि त्यो सबै आवाज, त्यो सबै गन्ध, त्यो सबै रंग केवल सम्झनाको संसार बनेको छ कि ? ठम्याउन कठिन हुने देखिन्छ ।
परदेशमा चाडबाड आएपछि कोठा अझ सानो लाग्छ, कामको थकानभन्दा ठूलो हुन्छ मनको खालीपन। तर यो पीडासँगै एउटा गर्व पनि मिसिएको छ, हामीले आफ्ना सपना र परिवारको खुशीका लागि यो दूरी सहिरहेका छौं। हामी जहाँ भए पनि हाम्रो मन र माया नेपालमै बाँचिरहेको छ।
तिहारको झिलिमिली नेपालमा मात्र होइन, परदेशका हरेक कोठामा पनि टल्किएको छ; सम्झना,माया र प्रतीक्षाको रूपमा। सायद देशले नयाँ मोड लिएर आउने वर्ष, अब आउने तिहारमा दिदी र भाइ फेरि एउटै घरको आँगनमा भेटिनेछन् । त्यो बेला यी अधुरा सम्झनाहरू उज्यालोमा परिणत हुनेछ। तिहारले पनि मेरो अस्तित्व फर्कि आयो भनेर खुसि मनाउने छ। परदेशबाट घर फर्केका र घरमा कुरिरहेका पर्देशीका परिवारले हामिले मनाएका ति पुराना चाड जस्ताको त्यस्तै फर्किआयो भन्ने दिनको बेग्र प्रतिक्षा हरेक नेपाली माझ रहेको छ।
प्रकाशित मिति: ६ कार्तिक २०८२, बिहिबार












प्रतिक्रिया