काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन दबाब दिएको भन्ने समाचार असत्य र भ्रामक भएको जनाएको छ।
पछिल्ला दिनमा बालेनले प्रधानमन्त्रीलाई गृहमन्त्री अर्यालको राजीनामा माग गर्दै दबाब दिएको भन्ने समाचारहरू सार्वजनिक भएका थिए। तर प्रधानमन्त्रीको सचिवालयले ती समाचारको खण्डन गर्दै यस्ता निर्णयहरू कसैको दबाब वा प्रभावमा नहुने स्पष्ट गरेको हो।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, गृहमन्त्रीलाई हटाउने वा नियुक्त गर्ने विषय पूर्ण रूपमा प्रधानमन्त्रीको अधिकारक्षेत्रभित्र पर्छ। कसैको दबाबमा यस्ता निर्णय हुने प्रश्न नै उठ्दैन।
विज्ञप्तिमा गृहमन्त्री अर्यालले आगामी निर्वाचनको तयारी, शान्ति–सुरक्षा सुदृढीकरण र सुरक्षा निकायहरूको मनोबल उच्च राख्न निरन्तर प्रयासरत रहेको पनि उल्लेख गरिएको छ।
श्रेष्ठले हालको संवेदनशील राजनीतिक परिवेशमा यस्ता अफवाहहरू नफैलाउन र नपत्याउन सबै पक्षलाई आग्रह गर्दै भनेका छन्, जेनजी आन्दोलनबाट प्राप्त जनादेशअनुसार बनेको यो सरकार गम्भीर जिम्मेवारीका साथ अघि बढिरहेको छ। यस्तो अवस्थामा गलत समाचारले भ्रम सिर्जना गर्न सक्छ, त्यसैले यस्ता दाबीहरूमा विश्वास नगर्न सबैलाई अनुरोध गर्दछौं।

प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार












प्रतिक्रिया