काठमाडौं । नेपालको राजनीति फेरि एकपटक पैसाको खेल र नैतिकताको सवालबीचको द्वन्द्वमा प्रवेश गरेको छ। देश राजनीतिक अन्योलतामा छ, पुराना दलमाथि जनताको विश्वास भत्किँदै गएको छ, नयाँ शक्तिको खोजी चलिरहेको छ। त्यही मौका पारेर बुद्ध एयरका मालिक तथा विवादास्पद व्यापारी वीरेन्द्र बहादुर बस्नेत राजनीतिक मैदानमा ओर्लिएका छन्।

बस्नेतले हालै “गतिशील लोकतान्त्रिक पार्टी’’ नामक नयाँ राजनीतिक दल दर्ता गरेका छन्। पार्टी दर्ता हुँदै गर्दा पदाधिकारी चुनाव लड्न नपाउनेगरी निर्वाचन आयोगमा दर्ता भएको छ। दर्ता प्रक्रियामै उनले देखाएको कानुनी चलाखी र रणनीतिक जालझेल अहिले चर्चाको विषय बनेको छ। निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा उनले आफूलाई कुनै पनि पदाधिकारीको सूचीमा नराखी केन्द्रीय सदस्यको रूपमा मात्र राखेका छन्। पार्टीका सबै निर्णय, नीति, संरचना र सम्पुर्ण गतिविधि उनकै नेतृत्वमा हुँदाहुँदै पनि आफूलाई “साधारण केन्द्रिय सदस्य”को रूपमा राखी देशको नेतृत्व तहमा पुग्ने दाउपेचमा छन्।

advertisement

तर, विरेन्द्र बस्नेतको व्यावसायिक पृष्ठभूमि हेर्दा उनको नाम विवादबिनाको छैन। बस्नेतको नैतिकतामाथी लामो समयदेखि प्रश्न उठिरहेको छ। बुद्ध एयर जस्तो ठुलो कम्पनीका मालिक भए पनि उनी विगत केही वर्षदेखि पारिवारिक ‘सम्पत्ति विवाद’का कारण चर्चामा छन्।

परिवार भित्र सम्पत्तिका लागि आफ्नो बावुले अंश बण्डा गरेर आफ्नो सहोदर भाइ सिवेन्द्र बहादुर बस्नेत परिवारको नाममा गरिदिएको ४०% सेयर उनी आफैले हडपेर बुद्ध एयर भित्र शिवेन्द्रलाई प्रवेश गर्न समेत दिएका छैनन्।

बुद्ध एयरको ४० प्रतिशत सेयर हडपेको उनका भाइ शिवेन्द्रले स्वयं बताउँदै आएका छन् । आफ्नै भाईको हकमा रहेको सेयर र अधिकारलाई पैसा र शक्तिको बलमा दबाएर व्यवसायिक साम्राज्यभित्र नैतिकताको नामोनिशान मेटाउन सफल भएका उनी आफ्नो परिवार भित्र समेत पैसाका लागि यतिसम्म गिर्न सक्छन भने राजनितीमा आएर यो मुलुकको नेतृत्व गर्ने ठाउँमा पुगे यिनले के गर्लान भन्ने गम्भीर प्रश्न चिन्ह खडा भएको छ। जुन व्यक्ति आफ्नै परिवारभित्र समेत न्याय र नैतिकताको रक्षा गर्न सक्दैन भने त्यस्तो व्यक्ति देशको नेतृत्वतहसम्म पुगे के होला भन्ने आम नागरिकको चासो र चिन्ताको विषय समेत बनेको छ।

अहिले बस्नेतले आफ्नो नयाँ पार्टीलाई प्रचार–प्रसारमा तिव्र बनाएका छन्। सामाजिक सञ्जालमा उनी र उनको टोलीले धेरै डलर खर्चेर भिडिओ, पोस्टहरु ‘बुस्ट’ गरिरहेका छन्। तर, ती भिडिओ पोस्टको चमकभित्र एक ठूलो विडम्बना लुकेको छ कि राजनीति सामाजिक संजाल बुस्ट गरेर होइन, नैतिकता र विश्वासले टिक्ने कुरा हो।

बस्नेतको राजनीति “बैकल्पिक राजनितीक नयाँ शक्ति” होइन, पैसाले नैतिकतालाई लत्याएको अर्को रूप बनेर देखा परेको छ। अहिले देशमा राजनीतिक उथलपुथलको अवस्था छ। युवाले नयाँ शक्तिको एउटा आवश्यकता महसुस गरेको समय छ। जेनजी आन्दोलन पनि अब कता जाने हो भन्ने अलमलिएको अवस्था छ। पुरानो दलहरूप्रति आम युवा तथा जनमानसको धारणा सकारात्मक छैन। नागरिकहरुमा पुराना दलहरूप्रती वितृष्णा छ।

त्यसैगरी, रवि लामिछानेले जनताको वितृष्णाको सकारात्मक फाइदा उठाउँदै वि.सं २०७९ सालमा छोटो समयमा पार्टी दर्ता गरेर ६ महिनाको अन्तरालमा चौथो शक्तिको रुपमा रास्वपालाई स्थापित गरे। तर, आज ति सबै दल राजनितीक रुपमा छिन्नभिन्न भएको बर्तमान परिस्थितिमा अब फेरि जनतालाई भ्रममा पारेर चिप्लाएर, मिठा कुरा गरेर एकैचोटि भोट ह्वात्तै ल्याएर एउटा शक्तिको रुपमा स्थापित हुन सकिन्छ कि भन्ने दाउचेचमा बस्नेत लागेको प्रष्ट देखिन्छ ।
दलहरूको असफलता र नयाँ दलहरूको भ्रमबीच जनताले परिवर्तन खोजिरहेका छन्। त्यो परिवर्तन पैसाले किनिएको शक्ति होइन, मूल्य र आदर्शमा टेकेको राजनीतिक चेतना आवश्यक छ। तर, विरेन्द्र बस्नेतजस्ता व्यापारीहरूले राजनीति पैसा र प्रभावको ओसारपसारको मैदान बनाउन खोजे भने यो देश र लोकतन्त्र दुवैका लागि खतरा हो।

राजनिती गर्न नैतिकता चाहिन्छ। नैतिकताले नै राजनीतिलाई डोर्‍याउन पर्ने हो । तर, बस्नेतको राजनितीलाई पैसाले डोर्याएको जस्तो देखिन्छ। पारिवारिक रुपमा समेत यति नैतिकहिन काम गर्ने आरोप लाग्दै आएका वीरेन्द्र बहादुर बस्नेतले भोलि यो मुलुक हाक्ने अवस्था आयो भने पैसाका लागि आफ्नो भाई र परिवारलाई समेत नछाड्ने उनि पैसाका लागि यो मुलुकलाई के सम्म गर्लान ? भन्ने चर्चा राजनीतिक वृत्तमा चल्न थालेको छ।

प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com