काठमाडौं । आन्दोलनरत डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन नेपाल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबीच आठबुँदे सहमति भएको छ। सहमतिसँगै एसोसिएसनले गर्दै आएको रिले अनशन तथा तालाबन्दीका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ।

विगतमा भएका सम्झौता कार्यान्वयन, नेपाल स्वास्थ्य व्यवसायी परिषद्को संरचनागत तथा कानुनी सुधार र प्रतिनिधित्वसम्बन्धी समस्या समाधानको माग राख्दै एसोसिएसनले आन्दोलन गर्दै आएको थियो।

मन्त्रालयसँग भएको सहमतिअनुसार डेन्टलसम्बन्धी नियमावलीमा रहेको निर्वाचनको क्लस्टरलाई छुट्टै व्यवस्था गरी निर्वाचनमार्फत नै प्रतिनिधित्व सुनिश्चित गरिनेछ। त्यसैगरी, २०८२ माघ ४ गते भएको सहमति, परिषद् सदस्यको थपघट तथा भत्तासम्बन्धी विषय आगामी पहिलो मन्त्रिपरिषद् बैठकमा पेस गर्ने सहमति भएको छ।

एसोसिएसनले कात्तिक २७ गते मन्त्रालयमा पेस गरेको पत्रमा परिषद्को संरचनागत, कानुनी तथा प्रतिनिधित्वसम्बन्धी समस्या समाधान र विगतका सहमति कार्यान्वयनलगायतका माग अघि सारेको थियो। माग सम्बोधन नभएको भन्दै एसोसिएसनले मङ्सिर ७ गतेदेखि आन्दोलनका कार्यक्रम सुरु गरेपछि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट वार्ता समिति गठन गरेको थियो।

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलको संयोजकत्वमा गठित समितिमा वरिष्ठ स्वास्थ्य प्रशासक डा. समिर अधिकारी र मन्त्रालयका कानुन उपसचिव राजेन्द्र लम्साल सदस्य रहेका थिए।

आठबुँदे सहमतिपछि आन्दोलनरत पक्षले आजैदेखि रिले अनशन अन्त्य गर्नुका साथै तालाबन्दीसमेत खोल्ने निर्णय गरेको छ। तर, सहमतिअनुसार माग सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउने र आवश्यक परे आमरण अनशनसमेत बस्ने एसोसिएसनले चेतावनी दिएको छ।

प्रकाशित मिति: ८ मंसिर २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com