काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको तयारीबारे निर्वाचन आयोगका पदाधिकारीहरूसँग आज विस्तृत छलफल गरेकी छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको बैठकमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकी तुलाधर र सगुन शमशेर राणा लगायतका अधिकारीहरू सहभागी थिए।
बैठकमा आयोगले हालसम्मका तयारीबारे प्रधानमन्त्रीलाई अवगत गराउँदै निर्वाचन तयारीको करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिएको छ। आयोगका अनुसार, हालसम्मको प्रगतिअनुसार आउँदो फागुन २१ गते तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्न सकिने विश्वास व्यक्त गरिएको छ।
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले विगतमा निर्वाचन बहिष्कार गर्ने दल र समूहहरू समेत यसपटक आयोगमा दर्ता भएर सहभागिताको तयारीमा रहेको जानकारी दिए। उनका अनुसार, हालसम्म कुनै दल वा समूहले चुनावमा भाग लिन नसकिने भन्ने धारणा व्यक्त गरेको छैन, जसले निर्वाचन वातावरण विगतभन्दा सहज बनेको संकेत गरेको छ।
आयोगमा नयाँ राजनीतिक दल दर्ता र मतदाता नामावली अद्यावधिक कार्य उत्साहजनक रूपमा अघि बढिरहेको बताउँदै भण्डारीले भने, “हाम्रो मूल्यांकनअनुसार तोकिएकै मितिमा निर्वाचन गराउन कुनै अवरोध छैन, आयोग पूर्ण रूपमा तयार छ।”
प्रधानमन्त्रीको निर्देशनमा आयोगले पठाएको तीनबुँदे पत्रका विषयमा प्रगतिबारे पनि जानकारी दिइएको थियो। आयोगका अनुसार, मतदाता नामावली दर्ताको भीड व्यवस्थापनका लागि कार्यालयहरू बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म दुई सत्रमा सञ्चालन गरिएका छन्। जनशक्ति थपिएको छ भने प्राविधिक समस्या समाधानका लागि तत्कालीन व्यवस्था मिलाइएको छ।
त्यस क्रममा राष्ट्रिय पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेले राष्ट्रिय परिचयपत्रका लागि संकलित जैविक तथ्यांक आयोगलाई उपलब्ध गराउन विभाग तयार रहेको जानकारी दिए। उक्त तथ्यांक प्रयोगले राष्ट्रिय परिचयपत्र नम्बर भएका र निर्वाचन कार्यालयमा उपस्थित हुन नसक्ने मतदाताका लागि सहजता पुग्ने आयोगको भनाइ छ।
आयोगले भोलि (बिहीबार)देखि राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा पनि मतदाता नामावलीमा समावेश गर्ने प्रक्रिया सुरु गर्ने तयारी गरेको छ। यसका लागि आज रातभर प्राविधिक परीक्षण र तयारी कार्य सम्पन्न गर्ने जनाएको छ।
हालसम्म आयोगको तथ्यांकमा १ करोड ८३ लाख ७७ हजार मतदाता अभिलेखित छन्, जसमा पछिल्लो निर्वाचन घोषणा पश्चात् मात्र २ लाख ९ हजार ५५२ नयाँ मतदाता थपिएका छन्।
निर्वाचन पर्यवेक्षणका लागि २२ वटा राष्ट्रिय र २ वटा अन्तर्राष्ट्रिय संस्थाले दर्ता गराइसकेको जानकारी दिँदै भण्डारीले आयोगले निर्वाचन आचारसंहिता मस्यौदा तयार गरी दलहरूलाई सुझावका लागि पठाइसकेको र चाँडै निर्वाचन कार्यक्रम प्रकाशन गर्न लागेको बताए।
प्रधानमन्त्री कार्कीले छलफलका क्रममा उम्मेदवारको खर्च न्यून पार्ने र मतदाताको सहजताका लागि अन्तरजिल्ला मतदानको सम्भावनाबारे चासो प्रकट गरेकी थिइन्।
सम्पूर्ण तयारी र समन्वयको आधारमा आयोगले तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्न सकिने विश्वास व्यक्त गरेको छ।
प्रकाशित मिति: २६ कार्तिक २०८२, बुधबार












प्रतिक्रिया