काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले राजनीतिमा केवल उमेरले युवा भएर मात्र नहुने बताएकी छन्।

मंगलबार मदन भण्डारी स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै उपमेयर डंगोलले राजनीति गर्नका लागि उमेर समूहभन्दा पनि ज्ञान, सीप र स्पष्ट दृष्टिकोण आवश्यक पर्ने बताएकी हुन्।

advertisement

डंगोलले राजनीतिलाई केवल उमेर समूहका रूपमा बुझ्न नहुने तर्क गरिन्। उनले भनिन्, ‘राजनीतिमा आउनका लागि ज्ञान चाहिन्छ, सोही अनुसारको विज्ञता चाहिन्छ, सीप चाहिन्छ र महत्त्वपूर्ण कुरा ऊर्जा चाहिन्छ। उमेरले मात्र युवा भएको कारणले गर्दा ज्ञान, सीप र नेतृत्वदायी क्षमता छैन भने त्यसको कुनै अर्थ रहँदैन।’

उनले जुनसुकै उमेर समूहको भए पनि देशका लागि निरन्तर योगदान दिने ऊर्जा र क्षमता हुनुपर्नेमा जोड दिइन्।

पछिल्लो समय राजनीतिमा उठिरहेको पुस्तान्तरणको बहसबारे टिप्पणी गर्दै डंगोलले एउटा पुस्ताले अर्को पुस्तालाई अंश दिएजस्तो पद हस्तान्तरण गर्नु मात्र पुस्तान्तरण नभएको स्पष्ट पारिन्।

‘आमा-बुवाले छोराछोरीलाई अंश दिएजस्तो दिने कुरालाई हामीले पुस्तान्तरण मान्न सक्दैनौं,’ डंगोलले भनिन्, ‘६० वर्षको उमेरको मान्छेले २० वर्षको मान्छेलाई ‘ल मैले ठाउँ छोडेँ तिमी आऊ’ भन्नु मात्र पुस्तान्तरण होइन। पुस्तान्तरण हुनका लागि त्यहाँ ज्ञान, सीप, सूचना, विचार र सिद्धान्तको ट्रान्सफर हुनु जरुरी छ।’

उनले विचार र सिद्धान्त बिना केवल एउटा व्यक्तिलाई हटाएर अर्को व्यक्ति ल्याउने कुरालाई मात्र पुस्तान्तरणका रूपमा बुझियो भने त्यसले राजनीतिमा अर्को दुर्घटना निम्त्याउने चेतावनी समेत दिइन्।

प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com