काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने लगभग निश्चित देखिएको छ। उक्त क्षेत्रबाट यसअघि नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक निर्वाचन जित्दै आएका छन्।
उम्मेदवारीका लागि बालेनले मेयर पदबाट राजीनामा दिने तयारी गरेका छन्। आइतबार राति सामाजिक सञ्जाल फेसबुकमा ‘शुभकामना सबैलाई !! हामी आउँदै छौं !!’ लेख्दै उनले चुनावी मैदानमा उत्रने संकेत दिएका छन्। यसलाई झापा–५ बाट उम्मेदवारी घोषणा गर्ने संकेतका रूपमा हेरिएको छ।
२०७९ को स्थानीय तह निर्वाचनमा पनि बालेनले उम्मेदवारी दर्ता अघि यसैगरी संकेतपूर्ण सन्देशमार्फत अलग्गै माहोल बनाएका थिए। यसपटक पनि उनले उम्मेदवारी घोषणा गरेर चुनावी चासो बढाएका छन्।
बालेन कहिले निर्वाचन क्षेत्रमा पुग्ने भन्ने स्पष्ट नभए पनि प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न अब करिब एक सातामात्र बाँकी छ। निर्वाचन आयोगले माघ ६ गते उम्मेदवारी दर्ताको मिति तोकेको छ।
स्रोतका अनुसार उम्मेदवारी घोषणा गरेकै आधारमा तत्काल राजीनामा दिनुपर्ने कानुनी बाध्यता नभएकाले बालेनले केही दिनपछि मात्र राजीनामा दिने तयारी गरेका छन्। उनले उम्मेदवारी दर्ता हुनुभन्दा दुई दिनअघि, माघ ४ गते मेयर पदबाट राजीनामा दिने सम्भावना रहेको स्रोतले जनाएको छ।
प्रकाशित मिति: २८ पुस २०८२, सोमबार












प्रतिक्रिया