काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि निरन्तर संघर्ष, संगठन निर्माण र जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका नेता माधव प्रसाद खरेलको गुल्मी क्षेत्र नं.–२ बाट उम्मेदवारी लगभग पक्का भएको कांग्रेस स्रोतले जनाएको छ। पार्टी संगठनमा चार दशकभन्दा बढी समयदेखि सक्रिय खरेललाई यसपटक क्षेत्र नं.–२ का मतदाताले प्रत्यक्ष निर्वाचनमा प्रतिनिधित्व गर्ने अवसर मिल्ने संकेत देखिएको हो।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश अनुशासन समितिका संयोजक तथा प्रदेश कार्यसमिति सदस्यसमेत रहेका खरेल पार्टीभित्र अनुशासन, संगठन सुदृढीकरण र जरा तहसम्म कांग्रेस विस्तारका लागि चिनिने नाम हुन्। मुसिकोट नगरपालिका–९ निवासी खरेलको राजनीतिक यात्रा २०३३ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएसँगै सुरु भएको हो।
जनमत संग्रहदेखि जनआन्दोलनसम्म अग्रपंक्तिमा
२०३६ सालको ऐतिहासिक जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा सक्रिय भूमिका निर्वाह गरेका खरेलले तत्कालीन अर्लाङकोट गाउँपञ्चायतमा बहुदलको पक्षमा ८८ प्रतिशत मत खसाल्न सफल भई पार्टीभित्र आफ्नो संगठन क्षमता प्रमाणित गरेका थिए। पञ्चायती शासनकालमा प्रतिबन्धित अवस्थामा समेत पार्टीको निर्देशनअनुसार २०४३ सालमा वर्गीय संगठनको निर्वाचनमा सहभागी भई युवक संगठनको सभापतिमा निर्वाचित हुनु उनको संघर्षशील राजनीतिक जीवनको महत्वपूर्ण मोड थियो।
२०४५ सालमा तत्कालीन महामन्त्री गिरीजा प्रसाद कोइराला र नेता सुशील कोइरालाको उपस्थितिमा गुल्मीमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनयन हुनु खरेलप्रतिको पार्टी नेतृत्वको विश्वासको संकेत मानिन्छ।
२०४६ र २०६२/०६३ का आन्दोलनमा साहसिक भूमिका
२०४६ सालको जनआन्दोलन सुरु हुनु अघिल्लो दिन नै गुल्मी–बाग्लुङ सिमानामा आफ्नै जग्गाको सिमलको रुखमा कालो झण्डा र चारतारे झण्डा फहराउँदै आन्दोलनको बिगुल फुकेका खरेल आन्दोलनको अग्रपंक्तिमा रहे। जनआन्दोलनकै क्रममा वामिटक्सार प्रहरी चौकी घेराउको अगुवाइ गरेपछि उनीमाथि कडा वारेन्ट जारी भएको थियो। पार्टीको निर्देशनअनुसार भूमिगत हुँदा उनका बुवालाई समेत प्रहरीले गिरफ्तार गरेको इतिहास कांग्रेस वृत्तमा आज पनि स्मरण गरिन्छ।
त्यसैगरी २०६२/०६३ को जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दा प्रहरीको लाठीचार्जसमेत सहनु परेको खरेललाई आन्दोलनबाट खारिएका नेताका रूपमा चिनिन्छ।
स्थानीय सरकारदेखि प्रदेश संगठनसम्म अनुभव
बहुदल पुनःस्थापना पश्चात् गठित जिल्ला कार्यसमितिमा सदस्य बनेका खरेल झण्डै १८ वर्षसम्म पटक–पटक जिल्ला कार्यसमितिमा रहेर काम गरेका अनुभवी संगठनकर्ता हुन्। २०४८ सालको आम निर्वाचनमा गुल्मीका तीनै क्षेत्रबाट कांग्रेस उम्मेदवारलाई विजयी गराउन सक्रिय भूमिका खेलेका उनी २०४९ र २०५४ सालका स्थानीय निर्वाचनमा तत्कालीन अर्लाङकोट गाविस अध्यक्षमा अत्याधिक मतसहित निर्वाचित भएका थिए। विशेषतः २०५४ सालमा ९ वटै वडामा कांग्रेसलाई विजयी गराउनु उनको संगठन क्षमताको प्रमाण मानिन्छ।
माओवादी द्वन्द्वका कारण विस्थापित भई काठमाडौं बसाइँ सरेका बेला पनि उनी निष्क्रिय रहेनन्। २०६४ देखि २०७१ सालसम्म नेपाली कांग्रेस गुल्मी–काठमाडौं सम्पर्क समितिको अध्यक्षका रूपमा संगठन सम्हाल्दै पार्टीलाई मजबुत बनाउने काम गरे।
कांग्रेस अनुशासन र संगठनका भरोसायोग्य नेता
२०७८ सालमा अत्याधिक मतसहित नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको सदस्यमा निर्वाचित खरेल हाल प्रदेश अनुशासन समितिको संयोजकका रूपमा जिम्मेवारी निर्वाह गरिरहेका छन्। पार्टीभित्र अनुशासन, सिद्धान्त र जनउत्तरदायी राजनीतिका पक्षधर नेताका रूपमा उनको पहिचान छ।
राजनीतिसँगै सामाजिक क्षेत्र, संघसंस्था तथा विकास निर्माणका काममा अग्रणी भूमिका निर्वाह गर्दै आएका खरेलको उम्मेदवारीले गुल्मी क्षेत्र नं.–२ मा कांग्रेसलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। पार्टीभित्र लामो योगदान, जनआन्दोलनको त्याग र स्थानीय तहदेखि प्रदेशसम्मको अनुभवका आधारमा खरेल यस क्षेत्रका बलिया दाबेदारका रूपमा उभिएका छन्।
कांग्रेसभित्रको आन्तरिक तयारी र स्थानीय कार्यकर्ताको माहोलले माधव प्रसाद खरेलको उम्मेदवारी लगभग पक्का जस्तै देखिएको विश्लेषण हुन थालेको छ।
प्रकाशित मिति: ४ माघ २०८२, आइतबार













प्रतिक्रिया