काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेह्रथुमका जिल्ला कार्यसमितिसहित जिल्लाभरका सबै स्थानीय तहका कमिटीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्।

पार्टी केन्द्रले जिल्लाको भावना र स्थापित विधिलाई बेवास्ता गर्दै उम्मेदवार छनोट गरेको आरोप लगाउँदै उनीहरूले पदत्याग गरेका हुन्। केन्द्रीय सभापति रवि लामिछानेलाई सम्बोधन गरी पठाइएको राजीनामा पत्रमा आगामी निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा केन्द्रले मनोमानी गरेको उल्लेख गरिएको छ।

advertisement

राजीनामा पत्रअनुसार, ‘घण्टी’ चुनाव चिह्नका साथ अवेयर तेह्रथुमका संयोजक इन्जिनियर सुरेन्द्र कार्कीलाई साझा उम्मेदवार बनाउने विषयमा जिल्लास्तरमा व्यापक राजनीतिक सहमति भएको थियो। तर पार्टी केन्द्रले उक्त सहमतिको उपेक्षा गर्दै जिल्ला र प्रदेश समितिको भावनाविपरीत एक अमूक व्यक्तिलाई टिकट दिएको दाबी गरिएको छ।

पार्टीले आफैंले पारित गरेको उम्मेदवार छनोट प्रक्रियाबाहिर गएर निर्णय लिइँदा पार्टीको विधि र मूल्य–मान्यतामाथि प्रश्न उठेको उल्लेख गर्दै राजीनामा पत्रमा भनिएको छ, “यस निर्णयले तेह्रथुमको जनभावना र स्थापित राजनीतिक सहमतिमा गम्भीर आघात पुर्‍याएको छ।”

सामूहिक राजीनामा दिनेहरूमा जिल्ला कार्यसमिति सभापति ई. सुमन खत्री, म्याङलुङ नगरपालिकाका संयोजक गणेश खापुङ, लालीगुराँस नगरपालिकाका सभापति सुमन लिम्बु, मेन्छ्यायेम गाउँपालिकाका संयोजक छात्रबहादुर थापा, छथर गाउँपालिकाका सचिव विष्णु एस. कटुवाल, फेदाप गाउँपालिकाका संयोजक लक्ष्मण थापा र आठराई गाउँपालिकाका सभापति चेतन गौतम रहेका छन्।

त्यसैगरी तेह्रथुम–काठमाडौं सम्पर्क विभागका संयोजक गुणनिधि दाहालसहित जिल्लाका सबै पालिका र वडा कमिटीका पदाधिकारीहरूले पनि सामूहिक रूपमा राजीनामा दिएका छन्। केन्द्रसँग भएको सहमति कार्यान्वयन गर्न नसकेकोमा नैतिक जिम्मेवारी लिँदै आफूहरूले पदबाट राजीनामा दिएको उनीहरूको भनाइ छ।

प्रकाशित मिति: ५ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com