जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका निवर्तमान प्रमुख बालेन्द्र शाहले काठमाडौँ अधिकार माग्न धाउने ठाउँ नभई घुम्न जाने गन्तव्य मात्र भएको टिप्पणी गरेका छन्।
मधेस प्रदेशको जनकपुरधाममा आज आयोजित रास्वपाको विशाल जनसभालाई सम्बोधन गर्दै शाहले मधेसको अधिकारको सवाल, समाजवादप्रतिको आफ्नो दृष्टिकोण र आगामी निर्वाचनमा रास्वपालाई समर्थन गर्न आग्रह गरे।
भाषणको सुरुवातमै उनले काठमाडौँलाई अधिकार माग्ने केन्द्रको रूपमा चित्रण गर्नु गलत भएको बताए। उखु किसानको आन्दोलनको उदाहरण दिँदै उनले मधेसले अझै पनि न्यायोचित अधिकार नपाएको विषय उठाए।
प्रदेश सरकारले समेत प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गर्न काठमाडौँ धाउनुपर्ने अवस्थालाई स्मरण गराउँदै शाहले वर्तमान शासन प्रणालीमै अधिकार प्रत्याभूतिको ठूलो बाधा रहेको उल्लेख गरे।
काठमाडौँ महानगरको नेतृत्वमा रहँदा आफूले २० हजारभन्दा बढी विद्यार्थीलाई पढाउने अवसर सिर्जना गरेको र १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार उपलब्ध गराएको बताउँदै उनले यी कार्यलाई समाजवादको व्यवहारिक उदाहरणका रूपमा प्रस्तुत गरे।
प्रकाशित मिति: ५ माघ २०८२, सोमबार












प्रतिक्रिया