काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवारी दर्ता गरेको ६ दिनपछि आफ्नै निर्वाचन क्षेत्र सर्लाही–४ पुग्न लागेका छन्। माघ ६ गते वारेसमार्फत उम्मेदवारी दर्ता गरिसकेका सभापति थापा सोमबार बिहान ११ बजे काठमाडौँबाट सिमरा–रौतहटको चपुर हुँदै सर्लाही पुगेका छन्।
मधेश प्रदेश समितिले बागमती पुल गेटमा भव्य स्वागतको कार्यक्रम तयार पारेको छ। कांग्रेसका कार्यकर्ताहरूले सभापति थापाको आगमनमा सक्रिय सहभागिता जनाउने तयारी गरिरहेका छन्।
मधेश कांग्रेसका प्रचार–प्रसार प्रमुख नितिश कुमार गुप्ताका अनुसार, सभापति थापा सर्लाहीमा चार दिनसम्म रहनेछन्। यस अवधिमा उनले पार्टी संरचनाका नेता र कार्यकर्तासँग प्रत्यक्ष छलफल गर्नेछन्। साथै फागुन ७ गते जनकपुरमा आयोजना हुने प्रदेशस्तरीय सभाको तयारी र छलफलमा पनि सहभागी हुने जानकारी गुप्ताले दिएका छन्।
सर्लाही–४ मा कांग्रेसका नवनिर्वाचित सभापति थापाले उम्मेदवारी दिएका कारण यहाँको चुनावी बहस तात्दै गएको छ। यसअघि स्वतन्त्र उम्मेदवारको रूपमा विजयी भएका अमरेशकुमार सिंह यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका छन्।
प्रकाशित मिति: १२ माघ २०८२, सोमबार











प्रतिक्रिया