एजेन्सी । अमेरिका सरकारी कामकाज ठप्प (शटडाउन)को संघारमा छ । यो स्थिति टार्न ह्वाइट हाउस र सिनेटका शीर्ष नेताबिच अन्तिम चरणका वार्ता तीव्र बनेका छन् ।
शुक्रबारको समयसीमा नजिकिँदै जाँदा शटडाउन रोक्ने सहमतिमा पुग्न दुवै पक्ष अन्तिम विवादित विषय टुंग्याउने प्रयासमा छन् । वार्तासँग परिचित स्रोतहरूका अनुसार ह्वाइट हाउस डेमोक्रेटहरूको मागअनुसार गृह सुरक्षा मन्त्रालय (डीएचएस)को बजेटलाई खर्च विधेयकबाट अलग गर्ने दिशामा अघि बढिरहेको छ । यसले देशभर इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आईसीई)का एजेन्ट तैनाथी र उनीहरूको कार्यशैलीसम्बन्धी नयाँ नीतिमा थप छलफल गर्न समय दिने ठानिएको छ ।
तयारीमा रहेको सम्झौताअनुसार रक्षा, श्रम, विदेश, यातायात तथा स्वास्थ्य तथा मानव सेवा मन्त्रालयसहित अन्य संघीय निकायलाई सेप्टेम्बरको अन्त्यसम्म बजेट सुनिश्चित गरिनेछ । तर डीएचएसका लागि भने अस्थायी रूपमा मात्र बजेट विनियोजन गरिनेछ ।
यसबिच आईसीईसम्बन्धी नीतिमा सहमति खोज्न दुवै पक्ष वार्तामा बस्नेछन् । सिनेटका अल्पमत नेता चक शुमरले अन्तिम विधेयकमा समावेश हुनुपर्ने मागहरूको सूची सार्वजनिक गरिसकेका छन् । यद्यपि डीएचएसको बजेट कति समयका लागि विस्तार गर्ने भन्ने विषयमा अझै सहमति जुट्न सकेको छैन । यसका कारण सम्झौता पूर्ण रूपमा टुंगो नलागेको बताइएको छ ।
वार्ता तीव्र हुनुलाई राष्ट्रपति डोनाल्ड ट्रम्प र रिपब्लिकन नेताहरू आईसीई एजेन्टको कठोर कार्यशैलीप्रति बढ्दो जनआक्रोशलाई सम्बोधन गर्नुपर्ने दबाबमा रहेको संकेतका रूपमा हेरिएको छ । यस महिनाको सुरुमा मिनियापोलिसमा दुई अमेरिकी नागरिकको ज्यान जाने गरी भएको गोलीकाण्डपछि आईसीईको आलोचना चर्किएको थियो ।
गएको वर्ष समयमै खर्च विधेयक पारित हुन नसक्दा नोभेम्बर १२ सम्म अमेरिकामा ४३ दिन सरकारी कामकाज ठप्प भएको थियो । सोका कारण राजनीतिक क्षति बेहोरेका ट्रम्प दोस्रो कार्यकालमा फेरि शटडाउन चाहदैनन् ।
यता डेमोक्रेटहरूले आईसीईको घुम्ती गस्ती सीमित गर्ने, खोज तथा गिरफ्तारीका लागि वारेन्ट कडा बनाउने, बल प्रयोगसम्बन्धी नीति कडाइ गर्ने, बडी क्यामेरा अनिवार्य गर्ने र एजेन्टले मास्क हटाउनुपर्ने जस्ता प्रावधान विधेयकमै समावेश हुनुपर्ने अडान दोहोर्याएका छन् । सिनेटमा रिपब्लिकनका ५३ र डेमोक्रेटका ४७ सांसद छन् । सिनेटमा डेमोक्रेटसँग विधेयक रोक्न पर्याप्त मत रहेकाले सहमति नजुटे शटडाउनको जोखिम कायमै छ ।
प्रकाशित मिति: १५ माघ २०८२, बिहिबार













प्रतिक्रिया