सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा आफूहरू बहुमतका साथ विजयी हुने दाबी गरेको छ। एमाले, कांग्रेस र माओवादीजस्ता पुराना दलहरूको बलियो पकड मानिने यस क्षेत्रमा रास्वपाका उम्मेदवार रमेश सापकोटाले जनलहर आफ्नो पक्षमा आएको बताएका छन्।

आइतबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सापकोटाले उम्मेदवारी दर्तापछि गाउँ–गाउँमा पुग्दा मतदातामा पुराना दलप्रति व्यापक असन्तुष्टि देखिएको दाबी गरे। यातायात व्यवसायीसमेत रहेका सापकोटाका अनुसार जनतामा परिवर्तनको चाहना प्रबल रूपमा देखिएको छ।

advertisement

‘मैले भेटेका अधिकांश मतदाताले यसपटक घण्टीमै भोट हाल्ने प्रतिबद्धता जनाएका छन्। कतिपयले त तपाईं उम्मेदवार नहुँदा पनि हामी घण्टीमै भोट हाल्थ्यौँ भनेका छन्,’ सापकोटाले भने। पुराना राजनीतिक शक्तिप्रतिको वितृष्णा नै आफ्नो जितको मुख्य आधार भएको उनको भनाइ छ।

आफ्नो चुनावी मूल्याङ्कन सुनाउँदै उनले भने, ‘जनताको बुझाइ रास्वपाप्रति सोचेभन्दा धेरै सकारात्मक छ। भोलि नै चुनाव भयो भने पनि मतदाता हामीलाई भोट हाल्न आतुर देखिन्छन्। धेरै घमन्ड नगरी भन्नुपर्दा हामी बहुमतका साथ विजयी हुन्छौँ।’

विगतमा नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका सापकोटा यसपटक रास्वपाबाट उम्मेदवार बनेका हुन्। सुर्खेत–२ मा यसअघि कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने गरेको थियो। यसपटक भने कांग्रेसबाट नारायणप्रसाद कोइराला, एमालेबाट कुलमणि देवकोटा र नेकपाबाट झकबहादुर मल्ल उम्मेदवार रहेका छन्।

प्रकाशित मिति: १८ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com