काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निजी क्षेत्रलाई गाली गरेर ‘दलाल’को ट्याग लगाउनु नहुने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ कार्यक्रमा उनले राजनीतिक दलले कानुनको दायरामा बसेर नाफा कमाउनेलाई दलाल भन्न नहुने बताएका हुन् ।
दलहरुले लामा घोषणापत्र ल्याउने र ती घोषणापत्रमा लेखिएका कुरा पुरा नहुँने भएकाले कांग्रेसले ‘१० बुँदामा घोषणपत्र’ ल्याउने पनि पौडेलले जानकारी दिए ।
‘कानुनको दायरामा बसेर नाफा कमाउनेहरुलाई हामीले दलालको ट्याग लगाउनु हुँदैन, यो भाष्यको अन्त्य हुनुपर्छ । उनीहरुले रोजगारी सृजना र राज्यलाई तिर्ने कर ठूलो हुन्छ,’ पौडेले भने, ‘व्यवसायीले ठूलो मेहनतले पुँजी निर्माण गरेको हुन्छ । पूँजी निर्माणमा निजी क्षेत्रलाई हामीले सहयोग गर्नुपर्छ।’
पौडेलले सम्भाव्य क्षेत्रमा रोजगारी सृजना गर्ने खाका दलहरुका घोषणा पत्रमा हुनुपर्ने बताए । नयाँ क्षेत्रको पहिचान गरी अर्थतन्त्रमा ती क्षेत्रलाई जोड्ने योजना पनि घोषणा पत्रमा हुने उनको भनाइ छ ।
‘हामीले घोषणापत्रमा राख्ने कन्टेन्टको विषयमा सबैसँग छलफल गरेर राख्नुपर्छ । हामी सबैको सुझाव समेट्छौं । छलफल चलाइरहेका छौैं,’ उनले भने, ‘हामीले स्थिरता चाहिन्छ भनेको आर्थिक विकासकै लागि हो । अब हामीले राम्रा आर्थिक मुद्दा ल्याएर प्रतिस्पर्धा गर्ने हो । गाली गरेर हैन ।’
राजनीतिक दलका कार्यक्रमका आधारमा जनताले मतदान गर्ने भन्दै आर्थिक दृष्टिकोणमा दलहरु स्पष्ट हुनुपर्ने र कांग्रेसले यसलाई आत्मसाथ गरेको बताए।
‘यसअघिका घोषणा पत्रमा धेरै लेख्यौँ। हामीले कार्यान्वयन गर्न सकेनौँ। अब भनिएका गरिएका बाचा कार्यन्वयन हुनेगरी एजेण्डा आउँछन् । देशका लागि १० एजेण्डा भनेर नेपाली काँग्रेसले तयारी गरेको छ । हाम्रा सबै आसय यसैमा समेट्छौं ।जनतालाई चित्तबुझनेगरी ल्याउँछौँ । हामी भ्रस्टचारमुक्त नेपाल बनाउन चाहान्छौँ ।’
अर्थतन्त्रलाई डीजिटलाइजेसन गरेर मात्र भ्रष्टाचारको अन्त्य गर्न सकिने उनको भनाइ छ । प्रशासनिक संयन्त्र र तहगत सरकारका कामलाई पनि डीजिटलाइजेसन गर्न आवश्यक रहेको उनको भनाइ छ ।
थोरै पूँजीगत खर्चबाट देश विकास गर्न नसकिने भन्दै यसलाई बढाउन के गर्न सकिन्छ भन्ने सोचसहित आफूहरुले योजना बनाइरहेको उनको भनाइ छ । उत्पादन निजी क्षेत्र गर्ने भन्दै यसलाई खुम्च्याउन नहुने उनको भनाइ छ ।
शिक्षा, स्वास्थ्यमा राज्यले लगानी गर्नुपर्छ । रोजगारी सृजना गर्ने र उत्पादन बढाउने निजी क्षेत्रले गर्ने हो,’उनले भने, ‘निजी क्षेत्रलाई फराकिलो बनाउनुपर्छ । प्राचित र पुरातन कुरा गरेर केही अर्थ छैन ।’
चीन र भारतलाई लक्षित गर्दै पौडेलले छिमेकी र अन्य देशसँगको सम्बन्धको बारेमा राष्ट्रिय धारण बनाउने बताए । यसका लागि सबै दल तयार हुनुपर्ने पनि उनको भनाइ छ । नयाँ कानुनहरु व्यवसायीक बनाउनुपर्ने हो भने निजी क्षेत्रले स्पष्ट रुपमा भन्न सक्नुपर्ने र त्यसलाई राजनीतिक दलले पनि आत्मसाथ गर्नुपर्ने पौडेलले बताए ।
‘एनआरएनहरुको पुँजी किन हामीले नेपालमा भित्र्याउन सकेनौं । पूँजी भित्र्याउन कडाई गरेर वैदेशिक लगानी आउँदैन।,’ उनले भने।
प्रकाशित मिति: १८ माघ २०८२, आइतबार













प्रतिक्रिया