काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवाहरूलाई देशको भविष्य मात्र नमानेर वर्तमानका ‘पार्टनर्स’ बनाएर हिँड्ने घोषणा गर्दै पार्टीले नगर्ने विषयको घोषणा गरेका छन् । थापाले बुधबार (माघ २१) एक भिडियो सन्देश जारी गर्दै कांग्रेसले विगतका गल्ती नदोहोर्याउनेगरी पार्टी बदलेको बताए ।
उनले पार्टी सरकार बाहिर बस्न तयार हुने तर, गठबन्धन नगर्ने घोषणा गरे । त्यसबाहेक उनले नवयुवा (जेनजी)का मुद्दाअनुसार बदलिने पहिलो पार्टी भएको भन्दै अब त्यसको कार्यान्वयन गर्ने अवसर सरकारमा गएर गर्ने म्यान्डेट प्राप्त हुने अपेक्षा व्यक्त गरे ।
“तपाईं (जेनजी)को आह्वानका आधारमा कांग्रेस बदलिएको छ, अब तपाईंसहितको विश्वासले बदलिएको कांग्रेसले देश बदल्नेछ,” थापाले भने, “तपाईंले यो सन्देश जनजनमा पुर्याइदिनुपर्छ । हरेक नागरिकमा यो सन्देश दिएर देशको परिवर्तनको नेतृत्वका लागि काम गर्ने अवसर दिनुपर्छ ।”
उनले हिजोको नेपाली कांग्रेस नरहेको भन्दै बदलिएको कांग्रेस युवाहरुको ‘भ्यालुज’सँग ‘म्याच’ गर्ने बताए । “तपाईं केमा विश्वास गर्नुहुन्छ । सबैभन्दा बढी ‘पर्सनल फ्रिडम’मा विश्वास गर्नुहुन्छ होइन ?,” नयाँ पुस्तालाई प्रश्न गर्दै भने, “आजको नेपाली कांग्रेस युवाहरूलाई विश्वास र साथ लिएर सँगसँगै हिँडाउन चाहन्छ । एकछिन सुन्नुभयो भने तपाईं रुख चिह्नमा मत हाल्न तयार हुनुहुनेछ । अरुलाई पनि रुख चिह्नमा मत हालेर नयाँ युगको आवश्यकता सम्बोधन गर्ने पार्टीलाई साथ दिन तयार हुनुहुनेछ ।”
उनले कांग्रेसलाई बदलेर लैजाने र तत्काल परिवर्तन चाहने युवाहरूको आवाज सुनेर नै आफूले जोखिम उठाएर नेतृत्व परिवर्तनमा होमिएको बताए । देख्दा सामान्य लागे पनि आफूले धेरै ठूलो जोखिम उठाएर पार्टीको विशेष महाधिवेशनमार्फत कांग्रेस बदलेको उनको दाबी छ ।
“सजिलो थिएन तर, यो गर्नेपर्ने थियो । हामी अहिले कांग्रेसलाई बदलेर आएका छौँ,” थापाले भने, “यो पुरानो कांग्रेस होइन नयाँ, बदलिएको कांग्रेस हो । बदलिएको भनेको एउटा अनुहार, नेतृत्वको अनुहार मात्र बदलिएको होइन ।”
उनले नयाँ कांग्रेस भनेको के हो भनेर पनि प्रस्ट पार्ने प्रयास गरेका छन् । “हिजोको सबै नेताहरू खराब हुन् भन्ने होइन । बदलिएको भनेको हामी नयाँ सोचका साथ आएका छौँ, नयाँ भन्नुको मतलब पुरानासँग सम्बन्धविच्छेद भएको भन्ने पटक्कै होइन,” उनले भने, “डेमोक्रेसी, सोसल जस्टिस (सामाजिक न्याय) डाइभर्सिटी (विविधता) यो त हाम्रो आत्मा हो, हाम्रो जरा हो । नयाँ कांग्रेसले यो जरालाई त अझ फैलाउने हो ।” उनले नयाँ कांग्रेसले आफ्ना ‘कोर भ्यालुज’लाई नयाँ तरिकाले पस्कने बताए ।
प्रकाशित मिति: २१ माघ २०८२, बुधबार













प्रतिक्रिया