काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि जारी सैन्य कारबाहीका क्रममा इरानको हवाई प्रतिरक्षा प्रणाली, वायुसेना, नौसेना तथा समग्र नेतृत्व ‘समाप्त भइसकेको’ दाबी गरेका छन् ।

इजरायली सेनाले तेहरानस्थित इरानको राष्ट्रपति कार्यालय, एउटा गोप्य परमाणु परिसर तथा रिभोलुसनरी गार्ड्सका एक कमान्डरमाथि आक्रमण गरिएको जनाएको छ । अमेरिकी सेनाले पनि कमान्ड सुविधा, क्षेप्यास्त्र प्रक्षेपण स्थल र सैनिक हवाई अड्डाहरू ध्वस्त पारिएको दाबी गरेको छ । इरानी अधिकारीहरूले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्, तर देशभरि विस्फोटका खबरहरू आएका छन् । इरानी रेड क्रिसेन्टका अनुसार शनिबारदेखि हालसम्म करिब ८ सय जनाको मृत्यु भइसकेको छ ।

advertisement

इरानले जवाफस्वरूप इजरायल तथा अमेरिकी सैन्य अड्डा रहेका खाडी मुलुकहरूमा घातक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरिरहेको छ । मंगलबार राति कतारको दोहाको दक्षिणपश्चिममा अवस्थित मध्यपूर्वकै ठूलो अमेरिकी सैन्य अड्डा अल उदैदमा इरानी क्षेप्यास्त्र खसेको थियो । कतारको रक्षा मन्त्रालयले त्यसबाट मानवीय क्षति नभएको भने पनि भौतिक क्षति भए–नभएकोबारे खुलाएको छैन ।

मंगलबार साँझ दुबईस्थित अमेरिकी कन्सुलेट नजिकैको पार्किङ क्षेत्रमा एउटा ड्रोन खस्दा आगलागी भएको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बताएका छन् । त्यसको केही घण्टाअघि साउदी अरेबियाको राजधानी रियादस्थित अमेरिकी दूतावासमा दुईवटा ड्रोन प्रहार भई सानो आगो लागेको साउदी रक्षा मन्त्रालयले जनाएको थियो ।

अमेरिका र इजरायलले शनिबार संयुक्त रूपमा इरानमाथि आक्रमण सुरु गरेका थिए । पहिलो चरणको हमलामा सर्वोच्च नेता आयतोल्लाह अली खामेनी र वरिष्ठ अधिकारीहरू मारिएको दाबी गरिएको छ । ट्रम्पले इरानको बैलिस्टिक क्षेप्यास्त्र क्षमता, नौसेना, परमाणु हतियार विकास गर्ने क्षमता तथा क्षेत्रीय सहयोगी समूहहरूलाई दिइने समर्थन नष्ट गर्ने लक्ष्य रहेको बताएका छन् । उनले इरानी जनतालाई ‘आफ्नो सरकार फिर्ता लिन’ समेत आह्वान गरेका छन् ।

यो द्वन्द्वले मध्यपूर्वमा तनाव चरममा पु¥याएको छ । खाडी क्षेत्रमा कार्यरत लाखौं नेपाली श्रमिकहरूको सुरक्षा जोखिममा परेको छ । नेपाल सरकारले इजरायल तथा इरानमा रहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन तथा अनावश्यक यात्रा नगर्न यसअघि नै एडभाइजरी जारी गरिसकेको छ । परराष्ट्र मन्त्रालय तथा नेपाली दूतावासहरूले नेपाली समुदायसँग सम्पर्क बढाएर सुरक्षा जानकारी प्रवाह गरिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले आपत्कालीन बैठक बोलाउने तयारी गरेको छ । स्थिति अत्यन्त संवेदनशील बनेको छ र थप ठूलो जवाफी कारबाहीको सम्भावना बढेको छ ।

प्रकाशित मिति: २० फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com