एजेन्सी। इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा ‘कालो वर्षा’ भएको भन्दै स्थानीय बासिन्दाहरूले चिन्ता व्यक्त गरेका छन्।
अमेरिका–इजरायलको आक्रमणपछि तेहरान आसपासका तेल प्रशोधन केन्द्रहरूमा आगलागी भएपछि हावामा ठूलो मात्रामा धुवाँ र प्रदूषक फैलिएको बताइएको छ।
फेब्रुअरी २८ देखि सुरु भएको आक्रमणका क्रममा तेहरान वरपरका कम्तीमा चार तेल प्रशोधन स्थलमा क्षति पुगेको पुष्टि भएको छ।
स्थानीयका अनुसार शहरका केही भागमा बाक्लो धुवाँका कारण सूर्यसमेत स्पष्ट देखिँदैन र जलिरहेको तेलको गन्ध फैलिएको छ।
उपग्रहबाट लिइएका तस्बिरहरूले तेहरानको उत्तर–पश्चिममा रहेको शहरान डिपो र दक्षिण–पूर्वमा रहेको प्रमुख तेल रिफाइनरी क्षेत्रबाट अझै धुवाँ निस्किरहेको देखाएको छ।
विशेषज्ञहरूका अनुसार तेलमा लागेको आगोबाट कार्बन मोनोअक्साइड, सल्फर अक्साइड, नाइट्रोजन अक्साइड लगायतका हानिकारक कण वायुमण्डलमा फैलिन्छन्, जसले वातावरण र मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ।
वैज्ञानिकहरूले ‘कालो वर्षा’ भन्नाले वर्षाको पानीमा हावामा रहेका प्रदूषक कण मिसिएर पानीको रङ गाढा वा कालो देखिने अवस्थालाई जनाउँछ भन्ने बताएका छन्।
वर्षाले वायुमण्डलमा रहेका धुलो, धुवाँ र रासायनिक तत्वलाई समेटेर जमिनमा ल्याउँदा यस्तो अवस्था देखिन सक्छ।
विशेषज्ञहरूका अनुसार यस्तो प्रदूषण सामान्य धुवाँलोभन्दा फरक र बढी खतरनाक हुन सक्छ, किनकि यसमा विभिन्न रासायनिक तत्वको मिश्रण हुन्छ।
यस्ता कणहरू जमीन, नदी र अन्य जलस्रोतमा मिसिएपछि दीर्घकालीन वातावरणीय समस्या निम्त्याउन सक्ने चेतावनी दिइएको छ।
यो पनि:
प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया