सिरहा । सिरहाको मिर्चैया नगरपालिका–५ स्थित पुरानो बजारमा घरमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ।
आगलागीमा परी रञ्जितकुमार महतोकी श्रीमती करिब ३० वर्षीया विभा पूर्वेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार बिहान करिब ११ः३५ बजे महतोको दुईतले पक्की घरमा अचानक आगलागी भएको थियो। स्थानीयले आगलागी भएको जानकारी ११ः४० बजे प्रहरीलाई गराएका थिए।
सूचना पाएलगत्तै प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। घरभित्र खोजी गर्ने क्रममा प्रहरीले विभाको शव फेला पारेको हो। आगलागीका कारण उनको शरीरको अधिकांश भाग जलेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।
घटनापछि जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी उपरीक्षक बासुदेव पाठकको नेतृत्वमा थप टोली घटनास्थल पुगेको थियो। आगलागीको कारण पत्ता लगाउन प्रहरीसँगै मिर्चैया सरकारी अस्पतालका चिकित्सक र विद्युत् प्राविधिकको टोलीले समेत घटनास्थलको निरीक्षण गरेको छ।
आगलागीको वास्तविक कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि धरान पठाउने तयारी भइरहेको छ।
प्रकाशित मिति: ९ भाद्र २०८३, मंगलबार













प्रतिक्रिया