काठमाडौं । नेपाली कांग्रेस का पूर्व उपसभापति धनराज गुरुङले फागुन २१ मा सम्पन्न निर्वाचनलाई भदौ २३–२४ मा घटेको घटनाको ‘दोस्रो एपिसोड’ का रूपमा व्याख्या गरेका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत लामो धारणा सार्वजनिक गर्दै गुरुङले भदौ २३–२४ को घटनापछि बसेको कांग्रेसको पहिलो केन्द्रीय कार्यसम्पादन समितिको बैठकमै आफूले आगामी दिनमा अर्को ‘एपिसोड’ आउने चेतावनी दिएको दाबी गरेका छन्।
उनका अनुसार त्यतिबेला नै आफूले परिस्थितिको सम्भावित परिणामबारे सचेत गराउँदै पार्टीलाई त्यसका लागि तयार रहन आग्रह गरेका थिए। ‘भदौ २३–२४ को घटनापछि बसेको पहिलो बैठकमै मैले भनेको थिएँ—यो पहिलो एपिसोड मात्र हो, दोस्रो अझै बाँकी छ। जुनसुकै रूपमा त्यो आउन सक्छ, त्यसका लागि तयार रहनुपर्छ,’ उनले उल्लेख गरेका छन्।
गुरुङले त्यसपछि भएका धेरैजसो औपचारिक तथा अनौपचारिक बैठकहरूमा पनि यही विषय दोहोर्याइरहेको बताएका छन्। तर पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी र वरिष्ठ नेताहरूले त्यसलाई गम्भीर रूपमा नलिएको उनको आरोप छ।
उनका अनुसार कतिपय नेताहरूले आफ्नो भनाइ बुझ्नै नचाहेका र केही नेताहरू व्यक्तिगत पद र महत्वाकांक्षामा अल्झिएका कारण वास्तविकता स्वीकार्न नसकेको हुनसक्छ।
गुरुङले आफूले पूर्वानुमान गरेअनुसार नै फागुन २१ को निर्वाचन ‘दोस्रो एपिसोड’ का रूपमा प्रकट भएको उल्लेख गरेका छन्। ‘धेरैलाई यो भदौ २३–२४ को घटनाकै निरन्तरता हो भन्ने कुरा थाहा नै भएन, थाहा पाउँदासम्म ढिला भइसकेको हुनसक्छ,’ उनले भनेका छन्।
उनले केही नेताहरूले आफूलाई ‘चुनाव लडौँ कि नलडौँ?’ भनेर सोध्दा नलड्न सुझाव दिएको पनि बताएका छन्। ‘किनकि यो दोस्रो एपिसोड आउनेमा म कुनै द्विविधामा थिइनँ,’ उनले भनेका छन्। तर सल्लाह दिएपछि पनि चुनाव लडेका केही नेताहरू पराजित भएको उनले उल्लेख गरेका छन्।
राजनीतिमा विभिन्न घटना र उतारचढाव स्वाभाविक भए पनि सम्भावित परिस्थितिको सही मूल्याङ्कन गर्न नसक्नु नेतृत्वको अदूरदर्शिता भएको गुरुङको टिप्पणी छ। उनले बैठकहरूमा बारम्बार चेतावनी दिँदा पनि त्यसलाई बेवास्ता गर्नु नेतृत्वको गम्भीर कमजोरी भएको बताएका छन्।
गुरुङले निर्वाचनका क्रममा पार्टीभित्रैबाट कमजोरी भएको भन्दै आलोचना गरेका छन्। उनका अनुसार कांग्रेसले चुनावको तयारी गर्ने क्रममा आफ्नै घरभित्र विवाद र असहमति बढाएर पार्टीलाई कमजोर बनाएको थियो, जसका कारण पार्टीले अपमानजनक हार व्यहोर्नुपरेको उनले बताएका छन्।
बिपी कोइराला को विचारको अनुयायी भएको दाबी गर्ने नेताहरूले पनि निर्वाचनको हारप्रति जिम्मेवारी लिन तयार नभएको भन्दै गुरुङले कटाक्ष गरेका छन्। सामाजिक सञ्जालमा अभिव्यक्ति दिएर मात्रै जिम्मेवारीबाट पन्छिन नसकिने उनको टिप्पणी छ।
प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार












प्रतिक्रिया