काठमाडौं । जेन-जी आन्दोलनका क्रममा गम्भीर घाइते भएका दौलत थापाको स्वास्थ्य अवस्था, उपचार व्यवस्थापन र राज्यको भूमिकालाई थप जिम्मेवार बनाउन पहलकदमी भएको छ।

थापाको अवस्थाबारे जानकारी लिन जेन-जी प्रतिष्ठानका अध्यक्ष श्याम अधिकारी, स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा शर्मा, स्वास्थ्य मन्त्रालयका सचिव विकास देवकोटा, गृह सचिव राजकुमार श्रेष्ठ, राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती स्मारक विस्तारित बोर्ड केन्द्रीय सामुदायिक वन पर्यटन प्रवर्द्धन व्यवस्थापन समिति अध्यक्ष सुदर्शन सिग्देल साथै विभिन्न सरोकारवाला निकायका प्रतिनिधि र काठमाडौँ मेडिकल कलेजका चिकित्सकहरूले संयुक्त रूपमा निरीक्षण गरेका छन्।

advertisement

निरीक्षणपछि जेन-जी प्रतिष्ठानका अध्यक्ष श्याम अधिकारीले आन्दोलनका क्रममा घाइते भएकाहरुको अवस्था राज्यले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्।

उनले सडकमा जारी आन्दोलनप्रति समर्थन जनाउँदै भने, “घाइतेहरूको अवस्था केवल स्वास्थ्यको विषय होइन, यो राज्यको उत्तरदायित्व र संवेदनशीलताको परीक्षा पनि हो।”

अधिकारीले कार्की आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग गर्दै ढिलाइलाई शंकास्पद रूपमा हेरिएको संकेत दिएका छन्।

‘जिउँदो सहिद’ घोषणा गर्न औपचारिक माग

जेनजी प्रतिष्ठानले घाइते दौलत थापालाई ‘जिउँदो सहिद’ घोषणा गर्नुपर्ने औपचारिक माग अघि सारेको छ।

अध्यक्ष अधिकारीले मुकेश कायस्थको घटनासँग तुलना गर्दै, थापाको अवस्था समान प्रकृतिको रहेको उल्लेख गरे। उनले सरकारलाई थापाका लागि तत्काल उपयुक्त आवास तथा दीर्घकालीन स्याहार व्यवस्थापन गर्न आग्रह गरे। उनले भने “राज्यले सहजीकरण गरेमा प्रतिष्ठान आफैं पनि आवास व्यवस्थापन गर्न तयार छ।”

सरकारको प्रतिक्रिया: समन्वय र छिटो निर्णयको आश्वासन

स्वास्थ्य मन्त्री सुधा शर्माले थापाको स्वास्थ्य अवस्थालाई गम्भीर रूपमा लिइएको बताउँदै शीघ्र व्यवस्थापनको प्रक्रिया अघि बढाइने आश्वासन दिएकी छन्।

यसका लागि गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ र स्वास्थ्य मन्त्रालयका सचिव विकास देवकोटाले आवश्यक समन्वय गरी छिटो निर्णय लिने बताएका छन्।

अस्पतालमा जोखिम, बाहिर असहजता: परिवारको दोहोरो संकट

दौलत थापाकी आमाले अस्पतालमा लामो समय राख्दा संक्रमणको उच्च जोखिम रहेको भन्दै चिन्ता व्यक्त गरेकी छन्।

उनका अनुसार काठमाडौंमा बसोबासका लागि उपलब्ध कोठा सानो र असहज छ, जसले उपचारसँगै दैनिक जीवन झन् कठिन बनाएको छ। भावुक हुँदै उनले भनिन्,“घर चलाउने छोरा नै यस्तो अवस्थामा छ, हामी कसरी सम्हालिने? सरकारले सहयोग गरिदिनुपर्छ।”

उनले थपिन्, “आमालाई स्याहार गर्ने बेला, अहिले छोरालाई नै स्याहार गर्नुपरेको छ।” परिवारको आर्थिक अवस्था कमजोर बन्दै गएको र दीर्घकालीन उपचार खर्चले घरको अवस्था चिन्ताजनक मोडमा पुगेको उनले बताइन्।

प्रकाशित मिति: ८ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com