काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ले अवैध अनलाइन सट्टेबाजी (बेटिङ) एप र सम्बन्धित वेबसाइटहरू २४ घण्टाभित्र बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरण लाई निर्देशन दिएको छ।
सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना को अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले यस्तो २४ घण्टाभित्र बन्द गर्न निर्णय गरेको हो। मन्त्री तिमिल्सिनाले बेटिङ एप र वेबसाइटहरू तत्काल बन्द गर्ने प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएका छन्।
प्राधिकरणका सहायक प्रवक्ता डा प्रदीप पौड्याल का अनुसार सेवा प्रदायक (अपरेटर्स) हरूलाई निर्देशन दिइसकिएको छ र बन्द गर्ने कार्य सुरु भइसकेको छ।
यसअघि मन्त्रिपरिषद् को चैत १३ गतेको बैठकले अवैध रूपमा सञ्चालन भइरहेका बेटिङ प्लेटफर्महरू बन्द गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार सरकारले शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीमार्फत देशभर सञ्चालनमा रहेका सबै सट्टेबाजी एप र वेबसाइटलाई छिटोभन्दा छिटो बन्द गर्ने नीति लिएको हो।
सरकारले यस्तो कदम अवैध आर्थिक कारोबार नियन्त्रण गर्न र पुँजी पलायन रोक्नका लागि चालेको जनाएको छ।
बैठकमा मन्त्री तिमिल्सिनाले मन्त्रालयअन्तर्गतका महाशाखा प्रमुखहरूलाई जनताले तत्काल लाभ लिन सक्ने सेवासम्बन्धी कार्ययोजना पेश गर्न निर्देशन दिएका थिए। साथै, उपलब्ध स्रोतसाधनको प्रभावकारी प्रयोग गर्दै सेवा प्रवाहलाई थप चुस्त बनाउनेमा जोड दिएका छन्।
उनले ‘डिजिटल शासन’ र ‘डेटा गभर्नेन्स’ मा केन्द्रित भएर समन्वयात्मक ढंगले काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै मन्त्रालयका कामहरूको नियमित समीक्षा र प्रतिवेदन प्रणालीलाई समेत सुदृढ बनाइने बताए।
प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार












प्रतिक्रिया