काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग मुलुकको अर्थतन्त्रका विषयमा महत्वपूर्ण छलफल गरेको छ।

सीएनआई अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको सीएनआई टोलीले अर्थमन्त्री वाग्लेलाई बधाई तथा शुभकामना दिँदै अर्थतन्त्रका विद्यमान समस्या र समाधानका उपायबारे छलफल गरेको हो।

advertisement

बैठकमा अध्यक्ष पाण्डेले सुशासन र उच्च आर्थिक वृद्धि हासिल गर्न सरकारले तत्कालीन, मध्यकालीन र दीर्घकालीन रूपमा विशेष ध्यान दिनुपर्ने बताए। उनले दोस्रो चरणको आर्थिक सुधार तथा असान्दर्भिक पुराना ऐन खारेज गर्ने प्रतिबद्धताको स्वागत गर्दै आगामी बजेटबाटै स्पष्ट सुधारको काम गर्ने विश्वास व्यक्त गरे।

अध्यक्ष पाण्डेले रोजगारी सिर्जना, उच्च आर्थिक वृद्धि र आयात प्रतिस्थापन गर्न उत्पादनमूलक उद्योगलाई प्रोत्साहन दिनुपर्ने, “पैसा कमाउनु अपराध हो” भन्ने भाष्य चिर्ने र कानुनी रूपमा सम्पत्ति आर्जन गर्नु अपराध नभएको सकारात्मक वातावरण बनाउन सरकारले भूमिका खेल्नुपर्नेमा जोड दिए। उनले बजार माग बढाउन नीति लिनुपर्ने बताए।

परिसंघले हालको करिब ४५ अर्ब डलरको अर्थतन्त्रलाई १० वर्षभित्र १०० अर्ब डलर पुर्‍याउने अध्ययन गरिरहेको र छिट्टै रिपोर्ट सरकारलाई बुझाउने जानकारी गराएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ओरालो लागेको अर्थतन्त्रलाई सही दिशामा मोड्न आफू मन्त्रालयमा आएको बताए। उनले निजी क्षेत्र उत्साहित भए मात्र विदेशी लगानी आउने भएकाले उत्पादनमूलक उद्योगलाई फरक ढंगले हेर्ने बताए।

“लाइन बस्न नपरोस्, घुस दिन नपरोस्” भन्ने विषयमा सरकारले विशेष ध्यान दिने उनले स्पष्ट पारे। निजी क्षेत्रले खोजेको राजनीतिक स्थिरता प्राप्त भइसकेको र अब नीतिगत स्थिरता कायम गर्दै आर्थिक समृद्धि हासिल गर्न सरकार अग्रसर हुने बताए।

उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्ने तर उदारताको नाममा छाडा हुन नदिने पनि अर्थमन्त्री वाग्लेको भनाइ छ।

प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com