काठमाडौं । सरकारले सार्वजनिक यातायात तथा ढुवानी सेवाको भाडा बढाउने निर्णय गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक स्वीकृतिपछि यातायात व्यवस्था विभागले नयाँ भाडादर लागू गर्ने तयारी अघि बढाएको हो।
प्राप्त विवरणअनुसार सार्वजनिक यातायातको भाडा औसत १६.७१ प्रतिशतले वृद्धि गरिएको छ। त्यसैगरी, मालवाहक सवारी साधनतर्फ पहाडी क्षेत्रमा सञ्चालन हुने गाडीको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रमा चल्ने सवारीको भाडा १५.७५ प्रतिशतले बढाइएको छ।
यातायात व्यवस्था विभागका अनुसार मन्त्रालयबाट आवश्यक स्वीकृति प्राप्त भइसकेको छ र छिट्टै विभागको आधिकारिक वेबसाइटमार्फत नयाँ भाडादरको विस्तृत जानकारी सार्वजनिक गरिनेछ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा अन्य प्राविधिक कारण देखाउँदै यातायात व्यवसायीहरूले लामो समयदेखि भाडा समायोजनको माग गर्दै आएका थिए।
नयाँ भाडादर कार्यान्वयनमा आएपछि सर्वसाधारणको दैनिक आवतजावत खर्च मात्र नभई उपभोग्य वस्तुको मूल्यमा समेत प्रभाव पर्ने अनुमान गरिएको छ।
- सार्वजनिक यातायात : १६.७१% वृद्धि
- पहाडी क्षेत्र (ढुवानी) : २१.६८% वृद्धि
- तराई क्षेत्र (ढुवानी) : १५.७५% वृद्धि
प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार













प्रतिक्रिया