हेटौंडा। हेटौंडाको पदमपोखरी -१३ को एक शान्त साझ, फेन्चु लामा आफ्ना ड्रागन फ्रुटका बोटहरु नियालिरहेका छन् ।
कहिले बिरुवाहरुको सुक्ष्म निरीक्षण गरिरहेका छन् भने कहिले सहयोगी कामदारहरूलाई केही निर्देशन दिइरहेका छन्।
उनको यो चालमा एउटा दृढ आत्मविश्वास देखिन्छ- अनुभवले मात्र होइन, आफ्नै संकल्पले सँगालिएको आत्मविश्वास ।
केही वर्षअघि उनी कक्षाकोठामा विद्यार्थीहरु संग रमाइरहेका थिए। आज भने उनी खेतमा आफ्नो अनुभव बटुलिरहेका छ्न् ।
“सात वर्ष भयो,” लामा भन्छन्, “यसअघि म सर्भिस सेक्टरमा थिएँ, एक गणित शिक्षकको रुपमा । अहिले म किसान हुँ।”
उनको शिक्षकबाट कृषि उद्धमी बन्ने यात्रा अचानक भएको भने होइन। यो अनुभव र अवलोकनबाट आएको हो ।
त्यसको केन्द्रमा थियो पदमपोखरी चोकमा रहेको उनका बुवाको एग्रो- भेट पसल, जहाँ किसानहरू सधैं समस्या र समाधान खोज्दै आउने गर्थे ।
“म त्यहाँ बस्दा किसानका कुरा सुन्थें,” उनी सम्झिन्छन्, “त्यसपछि लाग्न थाल्यो, हामीले उत्पादनतर्फ जानुपर्छ ।
नेपाल आयातमा निर्भर छ । आयातित बस्तुहरुको मात्रै उपभोग गरेर, उत्पादनमा नलाग्ने हो भने कसरी परिवर्तन आउँछ?”
त्यो प्रश्नले उनलाई छोडेन । लामो समय सेवा क्षेत्रमा बिताएपछि उनलाई उत्पादनमा केहि गर्ने चाहना बढ्दै गयो ।
उनी सिर्जनाका अवसरहरु खोजिरहेका थिए।
त्यही समयमा उनले कृषि क्षेत्रमा नयाँ अवसरहरू पनि देखे, ड्रागन फ्रुटको उच्च मूल्य, बोयर बाख्राको उन्नत जात, र सयपत्री फूलको बढ्दो माग ।
“माग छ भने किन नगर्ने?” उनी भन्छन् ।
त्यही सोचले “एम. एन. एस एग्रो प्रा.लि.” को जन्म भयो ।
करिब डेढ बिगाहा जमिनमा फैलिएको यस फार्ममा अहिले ड्रागन फ्रुट, मेवा, खरबुजा, सयपत्री फूलको उत्पादन गरिन्छ भने बाख्रा पालन पनि गरिन्छ ।
एउटा सानो प्रयासबाट सुरु भएको काम अहिले व्यवस्थित कृषि उद्यम बनेको छ ।
करिब ४ करोडको लगानीमा रहेको यस फार्मको मुख्य आम्दानीको स्रोत भने ड्र्यागन फ्रुट रहेको छ ।
तर लामाको खेती केवल बाली उत्पादनमा मात्रै सीमित छैन, यो प्रयोग र प्रणाली निर्माणको प्रयास पनि हो ।
ड्रागन फ्रुट खेतीमा उनले नवीन तरिका अपनाएका छन्। अफ- सिजनमा पनि उत्पादन बढाउन कृत्रिम बत्ती प्रयोग गरिएको छ।
बत्ती सेन्सर मार्फत आफैं बल्ने- निभ्ने व्यवस्था गरिएको छ ।
साथै, उनले परम्परागत पोल प्रणालीबाट ट्रेलिस प्रणालीतर्फ विस्तारै ड्रागन फ्रुट खेतीलाई रुपान्तरण गरिरहेका छन्, जसले उत्पादन र व्यवस्थापन दुबैमा सुधार ल्याउँछ ।
“सानो परिवर्तनले पनि ठूलो फरक पार्छ,” उनी भन्छन् ।
यद्यपि, यो यात्रा सहज भने थिएन। ड्रागन फ्रुटजस्तो बालीमा व्यावसायिक उत्पादन आउन समय लाग्छ, कम्तीमा पाँच वर्ष ।
प्राकृतिक जोखिम पनि छन् । फल पाक्ने बेला चराले करिब १० प्रतिशतसम्म क्षति पुर्‍याउँछ ।
केही गम्भीर ढुसीजन्य रोग पनि लाग्ने गर्छ । बिरुवा पहेँलो देखिने र यसले बोटको वृद्धि रोकेर फलको उत्पादनमा ह्रास आउने गर्दछ ।
“हामी व्यवस्थापन गर्दैछौं, बर्ड नेट र ब्यागिङको इन्स्टलेसनको काम हुँदैछ,” उनी भन्छन् ।
यो फार्म परिवारमै आधारित छ ।
उनका बुबा प्राविधिक अनुभवसहित संलग्न छन्, उनकी श्रीमतीले कृषि विषय पढेकी छन्, र लामा आफैंले पनि स्नातकोत्तर पछि जेटिए पढेर कृषि तालिम समेत लिएका छन् ।
यसबाहेक चार जना स्थायी कामदारहरु छन्, र सिजनमा थप कामदार पनि राखिन्छ ।
“यो मेरो एक्लैको प्रयास भने होइन,” उनी भन्छन्, “अरूलाई पनि सिकाएर काम गर्न सक्ने बनाएका छौं ।”
उनको कामले पहिचान पनि पाएको छ, स्थानीय तहदेखि प्रदेश र राष्ट्रिय स्तरसम्मका सम्मानहरू प्राप्त गर्न सफल भएका छन् ।
हरेक प्रोत्साहन उनका लागि नयाँ सुरुवातको खुड्किलो बनेको छ ।
आगामी दिनमा उनी उत्पादनभन्दा अघि बढेर प्रशोधनतर्फ जान चाहन्छन् ।
“ड्रागन फ्रुटबाट जुस, क्यान्डी, वाइन बनाउन सकिन्छ,” उनी भन्छन्, “केही पनि खेर जानु हुँदैन ।”
तर उनी प्रणालीगत समस्याहरू पनि स्पष्ट देख्छन् ।
मल, गुणस्तरीय बीउ, बीमा, र स्थिर बजार अझै चुनौतीका रूपमा छन् ।
किसानलाई सहयोग गर्ने नीति, न्यूनतम समर्थन मूल्य, र डिजिटल बजार आवश्यक रहेको उनी बताउँछन् ।
फेन्चु लामा केवल व्यक्तिगत परिवर्तनको उदाहरण मात्र बन्न चाहदैनन् ।
उनी नेपाली माटोले बकेको कृषिप्रधान मुलुकको अर्थ सबै युवाहरुले प्रत्याभूत गर्नुपर्नेमा जोड दिन्छन् ।
“राज्यले यसमा बिशेष जोड दिनुपर्छ ।” उनी स्पष्ट छ्न् ।
“धेरै वर्ष सेवा गरें, अब कृषि कर्ममा आफ्नो उर्जाशील समय बिताउन चाहन्छु ।”
  • नेपाल फोटो लाइब्रेरी

advertisement

प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com