काठमाडौं। नेपाल प्रहरी ले नियमित गस्तीका क्रममा देशका विभिन्न स्थानबाट लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको जनाएको छ। उनीहरू बुधबार नियन्त्रणमा लिइएका हुन्।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं महानगरपालिका–१२ टेकु ब्रह्मटोलबाट चिकित्सकको सिफारिसमा मात्र पाइने ५६० वटा ट्रामाडोल ट्याब्लेटसहित एक जना पक्राउ परेका छन्। यस्तै, ललितपुर महानगरपालिका–३ कृष्णगल्लीबाट २६७ वटा ट्रामाडोलसहित दुई जना र सुनसरीको बराहक्षेत्र नगरपालिका–३ कालिन्द्र सामुदायिक वन क्षेत्रबाट १ हजार ६१० वटा सोही ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरिएको छ।
त्यसैगरी, हेटौँडा उपमहानगरपालिका–१० न्युरेनीबाट ट्रामाडोलसहित एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यसैबीच, बाँकेको खजुरा गाउँपालिका–२ बाट ब्राउनसुगरसहित दुई जना, कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँबाट खैरो हेरोइनसहित एक जना, तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक जना, विराटनगर महानगरपालिका–१५ दुई नम्बर ढाटबाट एक जना तथा कपिलवस्तुको शिवराज नगरपालिका–६ वीरपुरबाट दुई जनालाई पक्राउ गरिएको छ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको नेपाल प्रहरी ले जनाएको छ।
प्रकाशित मिति: ३ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया