काठमाडौं । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प्स (आईआरजीसी) ले रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण होर्मुज जलडमरूमध्य मा आफ्नो पूर्ण नियन्त्रण पुनःस्थापित गरेको घोषणा गरेको छ।
आईआरजीसीद्वारा जारी विज्ञप्ति उद्धृत गर्दै इरानी समाचार एजेन्सीहरूले उक्त जलमार्ग अब पुनः इरानको नियन्त्रणमा आएको र त्यस क्षेत्रमा सशस्त्र बलले कडा निगरानी गर्ने जानकारी दिएका छन्।
यसैबीच, इरानले अमेरिकी गतिविधिमाथि आपत्ति जनाउँदै नाकाबन्दीलाई ‘समुद्री डकैती’ को संज्ञा दिएको छ।
यसअघि इरानका विदेशमन्त्री अब्बास अरागचीले सामाजिक सञ्जालमार्फत युद्धविराम अवधिभर होर्मुज जलडमरूमध्यबाट व्यावसायिक जहाजहरूको आवतजावत खुला रहने बताएका थिए।
उनको उक्त अभिव्यक्तिपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै इरानलाई धन्यवाद दिएका थिए र जलमार्ग खुला गरिएकोमा सकारात्मक प्रतिक्रिया जनाएका थिए।
तर केही समयमै उनले अर्को सन्देशमार्फत होर्मुज क्षेत्रमा अमेरिकी नाकाबन्दी जारी रहने स्पष्ट पारे, जसले स्थिति थप जटिल बनाएको छ।
यी परस्पर विरोधाभासी अभिव्यक्तिहरूका कारण होर्मुज जलडमरूमध्यको वास्तविक अवस्थाबारे अन्तर्राष्ट्रिय स्तरमा अन्योल उत्पन्न भएको छ।
इरानले आफ्नो बन्दरगाहमाथिको नाकाबन्दी नहटे जलमार्ग पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिँदै आएको छ। यद्यपि केही जहाज आवतजावत गरिरहेका देखिए पनि कति जहाज सुरक्षित रूपमा पार भएका छन् भन्नेबारे स्पष्ट जानकारी सार्वजनिक भएको छैन।
अमेरिका र इरानबीच बढ्दो तनावले विश्वव्यापी इन्धन आपूर्ति र समुद्री सुरक्षामा थप अनिश्चितता सिर्जना गरेको छ।
प्रकाशित मिति: ५ बैशाख २०८३, शनिबार












प्रतिक्रिया