काठमाडौं। संयुक्त राष्ट्रसङ्घको आगामी महासचिव चयन प्रक्रिया यसपटक निकै सीमित र कम प्रतिस्पर्धात्मक देखिएको छ ।
सन् २०१६ मा १३ जना उम्मेदवारबीच भएको खुला दौडको तुलनामा अहिले केवल चार जना उम्मेदवार मात्र औपचारिक रूपमा प्रस्तुत भएका छन् ।
विश्लेषकहरूले यसलाई संयोग नभई विश्व राजनीतिमा बढ्दो ध्रुवीकरण, कूटनीतिक जोखिम र बहुपक्षीय प्रणालीको कमजोरीको प्रतिबिम्ब मानिरहेका छन् ।
वर्तमान महासचिव एन्टोनियो गुटेरेसको दोस्रो कार्यकाल आगामी डिसेम्बर ३१ मा सकिँदैछ ।
उनको उत्तराधिकारी चयनका लागि सुरु भएको प्रक्रियाअन्तर्गत चार उम्मेदवारले संयुक्त राष्ट्र महासभामा सदस्य राष्ट्रहरूसामु आफ्नो दृष्टिकोण प्रस्तुत गर्नेछन् ।
प्रस्तुतिको क्रमअनुसार चिलीकी पूर्वराष्ट्रपति मिशेल ब्याचेलेट (मिशेल बाशेलेट जेरिया) ले पहिलो दिन ‘इन्टरएक्टिभ डायलग’ मा भाग लिनेछिन् ।
त्यसपछि अर्जेन्टिनाका अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक राफेल मारियानो ग्रोसी, कोस्टा रिकाकी अर्थशास्त्री तथा युएनसीटीएडीकी महासचिव रेबेका ग्रिन्स्पान (रिबेका ग्रिन्स्पान मायुफिस) र अन्त्यमा सेनेगलका पूर्वराष्ट्रपति म्याकी सलले आफ्ना धारणा राख्नेछन् ।
यी संवाद अप्रिल २१ र २२ मा हुनेछन् र लाइभ वेबकास्ट गरिनेछन् ।
उम्मेदवार सङ्ख्या घट्नुका मुख्य कारणहरूमा विश्व राजनीतिको गहिरो ध्रुवीकरण रहेको छ ।
एक दशकअघि अन्तर्राष्ट्रिय सहकार्य अपेक्षाकृत सहज थियो, जसले धेरै उम्मेदवारलाई प्रोत्साहन दिएको थियो ।
तर अहिले अमेरिका, चीन र रुसबीच बढ्दो अविश्वासका कारण उम्मेदवार बन्नु कूटनीतिक जोखिमपूर्ण बनेको छ ।
गलत सन्देश गए शक्तिशाली देशहरूसँगको सम्बन्ध बिग्रन सक्ने डरले धेरै योग्य व्यक्तिले प्रतिस्पर्धाबाट टाढा रहन रुचाएको देखिन्छ ।
संयुक्त राष्ट्रसङ्घको प्रभावकारिता घट्दै गएको धारणा पनि अर्को महत्वपूर्ण कारण हो ।
जलवायु परिवर्तन, दिगो विकास र आर्थिक सहकार्यमा यसअघि सक्रिय देखिएको संस्था अहिले युक्रेन, गाजा र इरानजस्ता द्वन्द्वमा प्रभावकारी हस्तक्षेप गर्न असमर्थ देखिएको छ ।
सुरक्षा परिषद्का स्थायी सदस्यहरूबीच असहमति र भिटोको बारम्बार प्रयोगले निर्णय प्रक्रिया अवरुद्ध हुँदै आएको छ ।
महासचिव चयनमा औपचारिक निर्णय महासभाले गर्ने भए पनि वास्तविक शक्ति सुरक्षा परिषद्का पाँच स्थायी सदस्य (अमेरिका, रुस, चीन, बेलायत र फ्रान्स) सँग छ ।
कुनै एक सदस्यले असहमति जनाएमा उम्मेदवार असफल हुन सक्छ । यसैले उम्मेदवारहरूले सन्तुलित र सावधानीपूर्ण कूटनीति अपनाउनुपर्ने हुन्छ ।
उम्मेदवारहरूको मनोनयन प्रक्रिया पनि जटिल देखिएको छ ।
मिशेल ब्याचेलेटलाई सुरुमा चिली, ब्राजिल र मेक्सिकोले समर्थन गरेका थिए ।
तर चिलीमा सरकार परिवर्तन भएपछि चिलीले समर्थन फिर्ता लिएको छ ।
अहिले उनी ब्राजिल र मेक्सिकोको मनोनयनमा प्रतिस्पर्धा गरिरहेकी छन् ।
राफेल ग्रोसी र रेबेका ग्रिन्स्पानलाई आफ्नै देशले प्रस्ताव गरेका छन् ।
म्याकी सललाई बुरुन्डीले प्रस्ताव गरेको छ तर सेनेगलले औपचारिक समर्थन दिएको छैन ।
यसअघि अर्जेन्टिनाकी कूटनीतिज्ञ भर्जिनिया गाम्बाको उम्मेदवारी फिर्ता लिइएको थियो ।
लैङ्गिक प्रतिनिधित्वको प्रश्न पनि यसपटकको प्रमुख बहसमा छ ।
दुई महिला उम्मेदवार (ब्याचेलेट र ग्रिन्स्पान) सहभागी भए पनि महासचिव पदमा पहिलो पटक महिला चयन गर्नुपर्ने माग बलियो छ ।
सन् २०१६ मा पनि यस्तो माग उठेको थियो तर पुरुष उम्मेदवार चयन भएका थिए ।
यसपटक केही शक्तिशाली देशहरूले महिला नेतृत्वप्रति सकारात्मक सङ्केत दिएका छन्, तर अन्तिम नतिजा अझै अनिश्चित छ ।
यो सीमित प्रतिस्पर्धा केवल उम्मेदवार सङ्ख्या घट्नुको घटना होइन ।
यसले विश्वव्यवस्थामा देखिएको अस्थिरता, शक्ति सङ्घर्ष र बहुपक्षीय संस्थाहरूको कमजोरीलाई स्पष्टसँग प्रतिबिम्बित गर्दछ ।
आगामी महासचिव को बन्छ भन्ने प्रश्नसँगै संयुक्त राष्ट्रसङ्घको भविष्य कस्तो हुन्छ भन्ने ठूलो प्रश्न पनि जोडिएको छ ।
नयाँ महासचिवको कार्यकाल सन् २०२७ जनवरी १ देखि सुरु हुनेछ र पाँच वर्षको हुनेछ ।
प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार













प्रतिक्रिया