काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्तालाई थप लक्षित र न्यायोचित बनाउन नयाँ अभियान सञ्चालन गर्ने घोषणा गरेको छ ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रूपमा त्याग्न प्रोत्साहित गरिने बताएका हुन् ।
यसका लागि सरकारले ‘सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ’ भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । सरकारले सामाजिक सुरक्षा प्रणालीलाई वास्तवमै आवश्यक पर्ने वर्गसम्म प्रभावकारी रूपमा पुर्याउने लक्ष्य राखेको जनाएको छ ।
अर्थमन्त्री वाग्लेले देशभरका दलित बालबालिकालाई प्रदान गरिँदै आएको बाल पोषण भत्ता दोब्बर बनाइएको जानकारी पनि दिए । नयाँ व्यवस्थाअनुसार अब दलित बालबालिकाले मासिक एक हजार रुपैयाँ पोषण भत्ता पाउनेछन् ।
त्यस्तै, उच्च गरिबी भएका मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका बालबालिकालाई उपलब्ध गराइँदै आएको पोषण भत्ता कार्यक्रमलाई निरन्तरता दिइने सरकारले जनाएको छ ।
प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार












प्रतिक्रिया